काठमाडौं । पर्यटक र अध्ययन भिसामा नेपाल प्रवेश गरी शंकास्पद धार्मिक गतिविधिमा संलग्न इन्डोनेशियाका तीन महिलालाई अध्यागमन विभागले पक्राउ गरेको छ।
विभागका अनुसार तीमध्ये एक जना पर्यटक भिसामा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए। तर, ती दुई जना कुनै शैक्षिक संस्थामा भर्ना नभएको र भिसाको उद्देश्य विपरीत धर्म प्रचारमा संलग्न रहेको पाइएको छ।
ललितपुरको धोबीघाटस्थित ‘हिमालय शिक्षा तथा हितेशी समाज’ मार्फत उनीहरूले गल्र्स होस्टेल सञ्चालन गर्दै मुस्लिम धर्म प्रचार, टर्कीस भाषा र कुरान पढाउँदै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सो संस्थाले वार्षिक करिब २ करोड ५० लाख रुपैयाँ विदेशी स्रोतबाट धर्म प्रचारका लागि प्राप्त गर्दै आएको तथ्य पनि खुलेको विभाग स्रोतले जनाएको छ।
पक्राउका क्रममा सो होस्टेलमा करिब ५० जना छात्रा अन्य कुनै शैक्षिक संस्थामा भर्ना नभई कुरान पढिरहेको अवस्थामा फेला परेका थिए। त्यस्तै, ललितपुरकै ज्वागलमा ब्वाइज होस्टेल सञ्चालन गरी विभिन्न जिल्लाका युवालाई धर्मसम्बन्धी प्रशिक्षण दिइएको छानबिनमा देखिएको छ।
अध्यागमन ऐन, २०४९ अनुसार, भिसाको उद्देश्य विपरीत गतिविधि गर्नु गैरकानुनी हुने र दोषी ठहरिए जरिवाना तथा निष्कासनको सजाय हुने व्यवस्था छ। विभागले पक्राउ परेका महिलाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइसकेको र सो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा संस्थाको आर्थिक स्रोतबारे थप अनुसन्धान भइरहेको जनाएको छ।