हेटौँडा । अवैध रुपमा भन्सार छली गरेर ल्याइएको चाँदीका गहनासहित एक भारतीय नागरिकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार राति करिब ९ः३० बजेको समयमा विशेष सूचनाका आधारमा जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं। १० बसपार्कबाट भारतको मोतीहारी जिल्ला घर भएका ५२ वर्षीय चाँदीलाल साहलाई प्रहरीले शंकास्पद अवस्थामा पक्राउ गरेको हो।
उनको झोला खानतलासी गर्दा भन्सार छली गरी ल्याइएको चाँदीका विभिन्न गहनाहरू फेला परेका थिए। बरामद गरिएका गहनाहरू मकवानपुर सुनचाँदी व्यवसायी संघबाट परीक्षण गराउँदा ती चाँदी नै भएको र त्यसको बजार मूल्य १ लाख ५८ हजार ३३२ रुपैयाँ रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले चाँदीका गहनासहित साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको छ।