वीरगञ्ज । पूर्वमन्त्री तथा संघीय सांसद माननीय रमेश रिजालले सोमबार वीरगञ्ज–२५, श्रीसियास्थित मानवसेवा आश्रममा भोजन सेवा योगदान गरेका छन् । आश्रमको भ्रमणका क्रममा उनले आश्रममा आश्रित व्यक्तिहरूलाई बिहानको भोजन सेवा पनि प्रदान गरे ।
आश्रमको अवस्थाबारे जानकारी लिँदै रिजालले आगामी दिनमा आफूबाट हुनसक्ने सबै प्रकारका सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे । उनले आफू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा विभिन्न दाताहरूको सहयोगमा आश्रमलाई पिकअप गाडी उपलब्ध गराएको स्मरण पनि गरे ।
सो अवसरमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारु, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा र जेसीआई वीरगञ्जका अध्यक्ष सरोज चौरसियाको पनि उपस्थिति रहेको थियो।