काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई धम्की दिएका छन्। आयोगले डेडिकेटेड लाइनको बक्यौता असुलीसम्बन्धी फाइल मागेपछि मन्त्री खड्काले असभ्य शैली अपनाएका हुन्। उनले भनेका छन्, “अनि अख्तियारमा चिठी पठाएको भरमा चुप लाग्छ जस्तो लाग्छ तपाईलाई? ती निकायहरू हामीले नै बनाएका हौं।”
मन्त्री खड्का व्यापारीहरुसँग मिलेर बक्यौता नउठाउने पक्षमा रहेको आरोप छ। १३ महिना मन्त्री बनेको भए पनि यस विषयमा उनले चासो नदेखाएको जनाइएको छ। विवादकै क्रममा उनले प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि हटाएका थिए।
उनमाथि जगदुल्ला हाइड्रोपावरको ठेक्कामा करोडौंको चलखेल गरेर चिनियाँ कम्पनीलाई ठेक्का दिन लागेको, सिंचाई आयोजनामा कर्मचारी सरुवामा लेनदेन, र नेपाल स्काउटको जग्गा भाडा हिनामिनाको आरोप पनि लागेका छन्। हाल, उनका विवादहरु बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग समेत बढ्दै गइरहेका छन्।