काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिबारे गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि १८ निकायमा पठाएका छन्। सभामुख देवराज घिमिरेको निर्देशनअनुसार पठाइएको प्रतिवेदन संसद्का सबै १४ दलका संसदीय दल कार्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संघीय संसद् सचिवालयमा पनि पुगेको छ।
कुलिङ अफ पिरियडको प्रावधानमा गडबडी देखिएपछि समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराले पद छाडिसकेका छन्। प्रतिवेदनले मुख्यसचिव एकनारायण अर्यालसहित तत्कालीन सचिवहरू उदयराज सापकोटा, रविलाल पन्थ र फणिन्द्र गौतमलाई पनि परोक्ष रूपमा जिम्मेवार ठहर गरेको छ। बाँकी औंल्याइएका बुँदा कार्यान्वयनमा जान बाँकी छ।