वीरगन्ज । वीरगन्जमा नेवार समुदायले निकाल्ने भीमसेन जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परम्परा अनुसार, बर्सेनि जात्राको दिन विर्तामाई मन्दिरबाट नेवारी भाषामा (खठ) डोला सहित जात्रा निकाल्ने गरिन्छ । जात्रा मुख्य सडकबाट गहवामाई मन्दिर भएर नगर परिक्रमा पछि पुनः विर्तामाई मन्दिरमा पुगेर सम्पन्न हुने गर्छ ।
विगतमा जात्रा गहवा पुग्दा युवाहरुले भीमसेनको मूर्ति राखिने (खठ) डोला खोस्ने प्रयास गर्दा वर्सेनि विर्ता र गहवाका युवा समूहबीच झडप हुने गथ्र्यो । त्यस क्रममा जात्राका सहभागी घाइते हुनुका साथै झडप र ढुंगामुढाको क्रममा सर्वसाधारणको घर तथा व्यापारिक प्रतिष्ठानका झ्यालका सीसा तथा अन्य सार्वजनिक सम्पत्तिहरु पनि तोडफोड हुने गरेको थियो । ।
कुनैकिसिमको झडप र दंगा नियन्त्रणका व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सादा पोशाकामा पनि सुरक्षाकर्मीहरु खटाईएको थियो । पहिले जस्तो अहिले झडपहरु हुन छोडेको छ । सबैले उत्साहका साथ शान्तिपूर्ण रुपमा भीमसेनको मूर्ति राखिएको (खठ)लाई पालैपालो बोकेर परिक्रमा गर्ने गर्छन् ।
जात्रामा यहाका नेवार समुदाय बाहेकका गैर नेवार समूदायको पनि उपस्थिति हुने गर्छ । देशका अन्य सहरका र त्यसमा पनि तराइको सहरका नेवार समुदायले यो जात्रा कमै मान्ने चलन रहेपनि वीरगन्जका नेवार समुदायले भने पुख्र्यौली जात्रा परम्परा विधि पूर्वक मनाएर जोगाएको नेवा पुचः वीरगन्जका अध्यक्ष सुन्दर श्रेष्ठले बताए ।
वीरगन्जको गणेशमान चोकमा भेला भएका नेवार समुदायले सगुन ग्रहण गरेपछि त्यहाँबाट भीमसेनको मूर्तिलाई बाजागाजा सहित लिएर वीर्ता मन्दिरमा बनाएर राखिएको डोलामा राख्ने गरिएको छ । यसपटक भीमसेनको मूर्ति राख्ने डोला भक्तपुरबाट ल्याईएको सुशील श्रेष्ठले बताए ।
जात्रामा ‘लियो लियो, पायो पायो’ नारा सहभागीहरुले उच्चारण गर्ने चलन रहेकाले धेरैले यो जात्रालाईनै ‘लियो लियो, पायो पायो’ जात्राको रुपमा सम्बोधन गर्छन् । नेवार समुदायले भीमसेनलाई कुल देउताको रुपमा पुजा अर्चना गर्ने चलन छ । जात्रा निकाल्दा आर्थिक समृद्धि, बैभव, सुस्वास्थ्य र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।