जनकपुरधाम । पत्रकारहरुमाथि भएको आक्रमणका दोषीलाई कारवाही नगरेको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलन शुरु गरेको छ । नेपाल पत्रकार महासंघ मधेस प्रदेश र धनुषा शाखाका पत्रकारहरुले आईतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन् ।
पत्रकार महासंघ मधेस प्रदेशको भवन निर्माणका लागि लिजमा लिएको गुठी संस्थानको जग्गामा साउन २७ गते तारबार लगाउने क्रममा वकिलहरुको समूहले आएर पत्रकार महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जरा सहित उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ का पत्रकारहरुलाई भौतिक आक्रमण गरेर घाईते बनाएका थिए ।
पत्रकारहरुमाथि आक्रमण गर्नेलाई प्रहरी प्रशासनले अझै पक्राउ गरेर कारवाही नगरेको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् । पत्रकारहरुमाथि आक्रमण गरेर घाईते बनाएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले समेत ध्यानाकर्षण भएको जनाउदै दोषीलाई कारवाही गर्न निर्देशन दिएका छन् । तर, अझै प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।
आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न पत्रकार महासंघले प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चमै पत्रकारले बैशाखी टेकेर हिड्नुपर्ने अवस्था कसरी आयो यसको स्थानीय प्रहरी प्रशासनले जाँचगरी कारवाही गर्न ध्यानाकर्षण गराएका थिए ।
आक्रमणकारी पक्राउ नगरिएको भन्दै पत्रकारहरुले आईतबार जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले ठुलो मात्रामा प्रहरी खटाएको छ । प्रशासनले यथाशीघ्र दोषीलाई पक्राउ गरि सार्वजनिक नगरे अझ देश ब्यापी यो आन्दोलन चर्किने पत्रकारहरुले चेतावनी दिएका छन् ।