वीरगंज । प्रतीक प्रकाशन समूहको ३९ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न पत्रकारहरु सम्माति भएका छन् । प्रतीक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतमा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजना गरिएको कार्यक्रममा वीरगन्जका पत्रकारहरु सम्मानित भएका हुन् ।
प्रतीक प्रकाशन समूहले स्थापना गरेको ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार क्रान्ति शाह सम्मानित भएका छन् । अन्नपूर्णपोष्ट दैनिकका पर्सा संवाददाता र मधेस खबर अनलाईनका संचालक शाहले नगद ५१ हजार राशीको पुरस्कार पाएका हुन् ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्मा, मधेस विश्व विद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्य लगायतले नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।
त्यस्तै पत्रकार सूर्यनारायण विक पनि स्व.चिरञ्जिवी कोईराला स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । उनले नगद १५ हजार रुपैया पुरस्कार राशी सहित सम्मानपत्र पाएका छन् । प्रतीक प्रकाशन गृहबाट बर्सेनि वितरण गर्दै आएको पुरस्कारहरू अन्तर्गत स्तम्भकारको पुरस्कार ओमप्रकाश खनाललाई दिईएको छ ।
उनलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित मधेस विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले प्रदान गरे। संवाददाताको पुरस्कार प्रमोद यादवलाई प्रदान गरिएको छ । उनले पनि नगद १५ हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन् । उत्कृष्ट कर्मचारीको पुरस्कार श्यामजीप्रसाद गुप्तालाई नगद पाँच हजार रुपैयाँ र सम्मानपत्रसहित वरिष्ठ ज्येष्ठ नागरिक पशुपतिविक्रम शाहले दिएका थिए।
यसैगरी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उद्योगी अनन्तकुमारलाल दासलाई विशेष सम्मान प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पुरस्कृत ओमप्रकाश खनाल, हरि गौतम, लगायतका वक्ताहरूले आफ्ना धारणा राख्दै प्रतीक प्रकाशन समूहको योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, स्व.सुवोध सिंहका दाजु सुदर्शन सिंह, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका सदस्य रमेशकुमार दत्त, मधेस प्रदेश ज्येष्ठ नागरिक महासङ्घकी उपाध्यक्ष ज्योति शाह, ज्येष्ठ नागरिक समाज पर्साका अध्यक्ष श्यामकुमार पोखरेल लगायतको उपस्थिति थियो।