वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनामा एक युवक झुण्डिएको अवस्थामा फेला परेको छ । स्थानीय प्रल्हाद रामको छोरा अन्दाजी २७ बर्षका अगन्त राम शनिबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो ।
उनले आत्महत्या गरेको देखिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिए । स्थानीयका अनुसार अगन्तले गएराति मदिरा सेवन गरेर माईतमा रहेको श्रीमतीसँग विवाद गरेका थिए ।
श्रीमतीसँग विवाद गरेपछि उनी मोटरसाईकल चढेर ससुराली जान खोजेका थिए । मदिरा सेवन गरेको अवस्थामा सवारी चलाएर ससुराली नजान परिवारका सदस्यहरु सम्झाएका थिए । त्यसपछि उनी कोठा बन्द गरेर सुतेका थिए ।
बिहान ढोका नखोलेपछि ढोका फुटाएर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
घटनाको जानकारी प्रहरीलाई दिएपछि तत्कालै प्रहरी चौकी गण्डक र वडा प्रहरी कार्यालय श्रीपुरको टोली घटनास्थल पुगेर शवको घटना मुचुल्का तयार गरी पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक बस्नेतले बताए ।
मृतक राम जीवनज्योती बोर्डिङ स्कुलको बस चलाउदै आएका थिए ।