वीरगन्ज । मानवसेवा आश्रम वीरगन्ज शाखाले शुक्रबार राति बाराको जितपुर सिमराबाट एक बेवारिसे पुरुषको उद्धार गरेको छ। मानसिक अवस्था कमजोर भएका र आफ्नो नाम(ठेगाना प्रष्ट बताउन नसक्ने करिब ४० वर्षीय ती पुरुषलाई जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २, वन कार्यालय अगाडिबाट राति ९:३० बजे उद्धार गरी आश्रममा लगिएको हो।
आश्रममा ल्याएपछि उनलाई नुहाइधुवाइ गराई सरसफाई गरिदिएको छ। त्यसपछि डा.भरत गोइको निगरानीमा उनको उपचार सुरु गरिएको मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।
उद्धार कार्यमा संस्थापक अभियन्ता गुप्ता, सामाजिक अभियन्ता तथा आश्रमका अभिभावक प्रकाश थारु, आश्रमकी संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास लगायत स्थानीय व्यक्तिहरुको सहभागिता थियो।