वीरगञ्ज । आगामी भदौ ७ गते वीरगन्जमा नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीवीहरूको जमघट हुने भएको छ । स्व. प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा प्रदीप गिरि इन्स्टिच्युट (पीडीआई) द्वारा ’उत्साह र सङ्घर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना हुने कार्यक्रममा नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीवीहरुको जमघट हुने भएको हो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आज पत्रकार सम्मेलन गरेर वीरगञ्ज उद्योग वाणिज्य संघको हलमा बिहान १०ः३० बजेदेखि कार्यक्रम सुरु हुने आयोजक संस्थाका अध्यक्ष कञ्चन झाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा प्रदीप गिरिको जीवन, विचार, र उहाँले अवलम्बन गर्नुभएका मूल्यहरू (नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव) माथि गहन विमर्श हुनेछ ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रदीप गिरिका परिवारका सदस्यहरू तथा उहाँसँग नजिक रहेका पर्साका नेताहरू रमेश रिजाल र अनिल रूङ्गटा ले सम्बोधन गर्नुहुनेछ। त्यसपछि तीनवटा अलग–अलग सत्रमा प्रदीप गिरिका बहुआयामिक पक्षमाथि छलफल हुनेछ।
पहिलो सत्रः ‘किन नागरिक समाज र सञ्चार माध्यमलाई प्रदीप गिरिको खाँचो महसुस हुन्छ? आज विवेकको बोली कसले बोल्ने?’
यस सत्रमा पत्रकार चन्द्रकिशोर, राजनीतिक विश्लेषक सुचेता प्याकुरेल, समाज अध्येता भाष्कर गौतम, र राजनीतिशास्त्री हरि शर्मा सहभागी हुनुहुनेछ। यस सत्रमा इमानदारीपूर्वक बोल्दाको अर्थ र विचारहरूको महत्त्वमाथि चर्चा हुनेछ।
दोस्रो सत्रः ‘प्रदीप गिरिः मनैदेखि समाजवादी वा परिचयभन्दा माथिको एक दूरदर्शी, जसले लोकतन्त्र बाँच्यो?’
यसमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, कांग्रेस (आई) का महासचिव मोहन प्रकाश, र भारतीय राजनीतिज्ञ तथा कानुनविद् वाईबी गिरि सहभागी हुनुहुनेछ। यस सत्रमा नेपाल र भारतको आर्थिक रूपान्तरणमा प्रदीप गिरिका विचारको सान्दर्भिकता र उहाँले परिकल्पना गर्नुभएको न्यायपूर्ण समाजबारे छलफल गरिनेछ। यसले प्रदीप गिरिको राजनीतिक अर्थशास्त्रसम्बन्धी दृष्टिकोण, उद्यमशीलता र व्यक्तिगत स्वतन्त्रताबारे पनि प्रकाश पार्नेछ।
तेस्रो सत्रः ‘नेपाल, भारत र सीमाञ्चलः युवा, संस्कृति र पहिचानको राजनीति’
यो सत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, साउथ एसियन युनिभर्सिटी दिल्लीकी सह–प्राध्यापक डा. मल्लिका शाक्य, भारतीय जनता पार्टीका नेता तथा संघीय सांसद डा. संजय जैसवाल, आरजेडीका नेता तथा संघीय सांसद सुधाकर सिंह, र सीमाञ्चल अध्येता कञ्चन झा सहभागी हुनुहुनेछ। यस सत्रले नेपाल र भारतबीचको साझा भविष्य, सांस्कृतिक सम्बन्ध, र सीमावर्ती ऐक्यबद्धताबारे चर्चा गर्नेछ।
कार्यक्रम सफल बनाउन वीरगञ्ज उद्योग वाणिज्य संघ, सानो पाइला, पीडीएल कन्सल्टिङ ग्रुप, युथ कांग्रेस, नेपाल न्युज बैंक लगायतका संघसंस्थाहरूले साझेदारी गरेका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले प्रदीप गिरिको स्मृतिमा वीरगञ्जमा यस्तो कार्यक्रम हुनु गौरवको विषय रहेको बताए । उनले गिरिका विचार र दर्शनलाई एकेडेमिक क्षेत्रमा समेत समावेश गरिनु उपयुक्त हुने धारणा व्यक्त गरे ।