सिम्रौनगढ । सिम्रौनगढस्थित ऐतिहासिक रानीवास मठको संरक्षण र यस क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ। मन्त्रालयको पुरातत्व विभागले यो बजेट कार्यान्वयनका लागि काम सुरु गरिसकेको छ।
रानीवास मठको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि स्थानीय जनप्रतिनिधि र केन्द्रीय टोलीले स्थलगत निरीक्षण गरेका छन्। यस क्रममा प्रतिनिधि सभाका सदस्य अचुत मैनाली र सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी कलवार सहितको टोलीले रानीवास मठको अवस्थाबारे जानकारी लिएको हो।
मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले यो रानीवास मठ केवल सिम्रौनगढको मात्र नभई सम्पूर्ण मधेश प्रदेशको गौरव भएको बताउँदै यसलाई दिगो संरक्षणमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। पुरातत्व विभागका महानिर्देशकले बजेटको पारदर्शी र गुणस्तरीय खर्च सुनिश्चित गर्न केन्द्रीय प्राविधिक टोली र स्थानीय सरोकारवालाको संयुक्त निरीक्षणपछि मात्र बोलपत्र प्रक्रिया सुरु गरिने जानकारी दिएका छन्।
नगर प्रमुख कलवारले मठको जीर्ण संरचनालाई तत्काल संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले धार्मिक महत्वका कारण यस स्थललाई पर्यटक गन्तव्यका रूपमा विकसित गर्न पूर्वाधार निर्माण, पहुँच मार्ग सुधार र सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताए।
यो योजनाबाट स्थानीय बासिन्दाहरू निकै उत्साहित छन्। उनीहरूले यो कार्यको सफल कार्यान्वयनले रोजगारी सिर्जना, स्थानीय व्यवसायको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको संरक्षणमा ठूलो योगदान पुग्ने आशा व्यक्त गरेका छन्।
केन्द्रीय प्राविधिक टोलीको निरीक्षण प्रतिवेदनका आधारमा बोलपत्र आह्वान गरी निर्धारित अवधिमा काम सम्पन्न गर्ने योजना रहेको छ। सिम्रौनगढको ऐतिहासिक एवं धार्मिक केन्द्रको रूपमा रहेको रानीवास मठको संरक्षण र विकासले यस क्षेत्रको सांस्कृतिक पर्यटनको सम्भावना अझ बढाउने विश्वास गरिएको छ।