वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले किसानलाई वितरण गरिने अनुदानको मल कालोबजारी गर्न लुकाएर राख्न गिरोह विरुद्ध अपरेशन सुरु गरेको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर –३, कटैयाबाट ठूलो मात्रामा लुकाएर राखिएको मल बरामद गरिएको छ।
नेपाल सरकारको अनुदानमा उपलब्ध गराइएको रासायनिक मल लुकाएर राखेको सूचनाको आधारमा बुधबार जिल्ला प्रशासन कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा मल बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा गरिएको अनुगमनमा, कटैयास्थित युनुस फकिरको घरबाट अनुदानको डीएपी २६ बोरा, पोटास १२ बोरा र युरिया १२ बोरा गरी जम्मा ५० बोरा मल बरामद भएको छ।
यसैगरी, सोही स्थानका ‘महमद मल खाद भन्डार’ का सञ्चालक साह महमद अन्सारीको घरबाट ९ बोरा डीएपी, १२ बोरा पोटास र ११४ बोरा बीएसपी (फास्फेट मल) बरामद गरी नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
बरामद गरिएको मल सरकारी अनुदानको भएको र त्यसलाई निर्धारितभन्दा बढी मूल्यमा बिक्री वितरण गरिएको अनुगमन टोलीले जनाएको छ। बरामद गरिएको मल बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।