बारा । बाराको पचरौता नगरपालिका–७ बेनौलीमा बुधबार करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाराले मृतक ६० वर्षीय गुलाब राय यादव रहेको बताएको छ।
यादव आफ्नै धान खेतमा काम गरिरहेका बेला घटना भएको हो। स्थानीय संजय पटेल र जिमदार मुखियाले खेतमा पानी तान्नको लागि विद्युत तार जोड्ने क्रममा यादव नाङ्गगो तारको सम्पर्कमा आउँदा करेन्ट लागेर घाइते भएका थिए। तत्काल उपचारका लागि कबही तर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी पिपरपातीबाट प्रहरी सहायक निरीक्षक शेख नेक महम्मदको कमाण्डमा र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुनसिंह ठगुन्नाको नेतृत्वमा मुचुल्का सहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त कार्यालय प्रमुख, प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
पण्डितका अनुसार मृतक यादवले केही दिनअघि संजय पटेल र जिमदार मुखियाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीमा विद्युत तारको असुरक्षित जडानका कारण जनजीवनमा खतरा भएको उल्लेख गरिएको बताइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। स्थानीय बासिन्दाले खेतमा पानी तान्ने क्रममा विद्युतको अनियमित प्रयोग र सुरक्षा मापदण्डको पालना नगर्नु गम्भीर समस्या भएको बताएका छन्। उनीहरूले यस्ता घटनाबाट बच्न सम्बन्धित निकायले निगरानी र जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको पनि बताएका छन्।
यसअघि पनि सो क्षेत्रका विभिन्न ठाउँमा विद्युत चुहावट र असुरक्षित तार जडानका कारण पशु तथा मानिस घाइते हुने घटनाहरू घटिसकेको छ। प्रहरीको भनाइअनुसार दोषी ठहरिने व्यक्तिमाथि कानुनी कारबाही अघि बढाइनेछ।