जनकपुरधाम । मधेस प्रदेशमा भूमिगत पानीको अवस्थाबारे विस्तृत अध्ययन गर्न आज मुख्यमन्त्री सतिश सिंह र भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ।
भेटका क्रममा प्रतिनिधिमण्डलले मधेस प्रदेशको भूगर्भीय पानीको अवस्थाको गहन मूल्याङ्कन गर्ने र पानीको अभावलाई समाधान गर्न आवश्यक उपायहरू सुझाउने विषयमा छलफल भएको मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिए ।
यसका लागि प्रतिनिधिमण्डलले मधेसका विभिन्न जिल्लाको स्थलगत भ्रमण गरी भूमिगत पानीको अवस्थाबारे आवश्यक अनुसन्धान गर्ने कार्यक्रम रहेको छ। यो अनुसन्धानले प्रदेशमा खानेपानी तथा सिँचाइको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने विश्वास लिईएको छ ।
मधेस प्रदेश सरकारले मधेसलाई सुक्खा ग्रस्त र संघीय सरकारले तीन महिनाका लागि विपद संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद संकट ग्रस्त घोषणा गरेपनि राहतका लागि भने संघीय सरकारले केही पनि उपलब्ध नगराएको गुनासो जनताले गरेका छन् । खासगरी सुक्खग्रस्त मधेसमा लामो समय पानी नपर्दा किसानले धान रोपाँई समयमा गर्न पाएनन् । जसले गर्दा आगामी बर्ष खाद्यान्न संकटको जोखिम बढ्ने सम्भावना देखिएको छ ।