जनकपुरधाम । जनकपुरमा वकिल समूहले पत्रकारहरुलाई घेरा हाली गरेको सांघातिक आक्रमणबारे आवश्यक तथ्य बुझ्न राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले अनुसन्धान सुरु गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका कार्यालयबाट मानव अधिकार अधिकृत द्वय किरण घिमिरे र राहुल कुमार ठाकुर तथा आयोगको सूचना तथा प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झा सहितको टोली नेपाल पत्रकार महासंघ मधेस प्रदेशको कार्यालयमा आएर सो घटना बारेमा विस्तृत जानकारी लिएका हुन् ।
यस बाहेक आयोगका कर्मचारीहरूको टोली अन्य घाइते तथा सम्बन्धित व्यक्तिहरूसँग समेत आवश्यक जानकारी लिएको छ।
नेपाल वार एसोसिएसन जनकपुरधामका अधिवक्ता वकिलहरूको कुटाईबाट को , को घाइते भएका र उनीहरूको अवस्थाकाे बारेमा जानकारी लिएका छन् । वकिलहरूको आक्रमणबाट नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा सुनिएको र पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको सहितका घटनाका बारेमा महासंघका मधेस प्रदेश कार्यालयले विस्तृत जानकारी दिएका थिए।
त्यसैगरी पत्रकार महिला र नेपाल पत्रकार महासंघ मधेेश प्रदेशका उपाध्यक्ष ज्योति झा र अर्का पत्रकार बिनीता यादवसँग लैङ्गिक संवेदनशीलतासमेतलाई ख्याल नगरी आपत्तिजनक स्थानहरूमा हातपात गर्दै दुर्व्यवहार गरेको जानकारी समेत उनीहरूलाई नेपाल पत्रकार महासङ्घले दिएको छ।
सो घटनाको सत्यतथ्य र छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्दै महासंघले नेपालमा संवैधानिक सर्वोच्चता र कानुनी राज्यको मर्यादालाई कायम गराउन र दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनका लागि आयोगले आवश्यक सिफारिस गर्न अनुरोध गरेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार र नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरणगुप्ता सहितका पत्रकारहरूसँग आयनेगले जानकारी लिएको थियो।
आयोगकाे टाेलीले आफूहरूले प्राप्त गरेको जानकारी र अन्य खोजबिन अनुसन्धानसमेत गरी तत्काल रिपोर्ट पेश गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।
यसै बीच मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव सहितको टोली पनि नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको कार्यालयमा आएर हालसम्मका घटनाका बारेमा विस्तृत जानकारी लिएका छन् ।
यसअघि कार्यवाहक अध्यक्ष सुरेश यादव, आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा र इन्सेक मधेस प्रदेश कार्यालयका प्रमुख राजु पासमान को टोली हिजै प्रादेशिक अस्पताल जनकपुरधाममा गएर घाइतेहरूसँग भेटघाट गरी घटनाका बारेमा आवश्यक जानकारी लिएका थिए । कानून पढेका र कानून व्यावसायीहरूबाटै अराजक र हिंस्रक कार्य समाजका लागि अशाेभनीय भन्दै चाैतर्फी आलाेचना र निन्दा भईरहेकाे छ । सत्य र न्यायकाे पक्षमा उभिनुपर्ने कानून व्यावसायीहरू न्यायाधीश आफ्नाे गाेजीमा रहेकाे धम्की दिएर आक्रमण गर्ने कानून व्यावसायी विरूद्ध बार काउन्सिलमा उजुरी गरेर कानून व्यावसायकाे प्रमाणपत्र खारेजकाे समेत माग गरेकाे छ ।