
अन्तर्राष्ट्रिय युवा दिवस हरेक वर्ष अगस्ट १२ मा मनाइन्छ। संयुक्त राष्ट्रसंघले १९९९ देखि सुरु गरेको यो दिवसको मुख्य उद्देश्य के हो भने, युवालाई आफ्नो अधिकार र जिम्मेवारी बुझाउनु, र देश समाजका लागि योगदान गर्न प्रेरित गर्नु। अहिले संसारमा करिब १.८ अर्ब मानिस १५ देखि ३५ वर्षको उमेर समूहमा छन्। नेपालमा मात्रै करिब ४० प्रतिशत जनसंख्या युवा वर्गमा पर्छ। यसको मतलब हाम्रो देशमा अपार शक्ति छ, तर त्यो शक्ति कुन दिशामा जान्छ, यही नै मुख्य कुरा हो।
कार्ल मार्क्सले भनेका थिए “दुनियाका श्रमिकहरू, एक हौ१” यो केवल मजदुर वर्गका लागि मात्र होइन, सबै शोषित, उत्पीडित र अन्यायमा परेको युवाका लागि पनि हो। माओवादी आन्दोलनले यही कुरा व्यवहारमा उतार्यो युवालाई विचार, संगठन र संघर्षको स्कुलमा पठायो।
माओत्सेतुङको कुरा हेरौं, उहाँले भनेका थिए “युवा भनेको बिहानको ८÷९ बजेको घाम हो।” त्यो घामको अर्थ के भने, चेतनाको घाम। चेतना नभएको ऊर्जा कतै पनि खर्च हुन्छ, तर समाज बदल्दैन। चे ग्वेवारा पनि यसकै प्रमाण हुन्। उनी पेशाले डाक्टर थिए, आरामसँग जीवन बिताउन सक्थे, तर उनले त्यो बाटो छाडेर क्रान्तिको बाटो रोजे। उनले मार्क्सलाई गहिरो बुझ्थे र त्यो विचारलाई आफ्नो जीवनमा उतारे। सुख–सुविधा, पारिवारिक आराम, व्यक्तिगत भविष्य यी सबैलाई बिर्सेर उनले उत्पीडित जनताको पक्षमा हतियार उठाए। त्यही कारणले आज पनि उनलाई “साँचो क्रान्तिकारी युवा”को रूपमा संसारले सम्झन्छ।
नेपालको जनयुद्धतिर फर्कौं। हजारौँ युवाले आफ्नो भविष्य, पढाइ, रोजगारी र व्यक्तिगत सपना त्यागेर जनमुक्ति सेनामा लागे। कसैले जंगलमा, कसैले गाउँरगाउँमा, कसैले भूमिगत भएर जनताको पक्षमा लडे। उनीहरूको साहस र बलिदानको फलस्वरूप हामी गणतन्त्रमा बाँचिरहेका छौं। तर विडम्बना के छ भने, अहिलेका धेरै नयाँ पुस्ताका युवाले त्यो दमन, उत्पीडन र राजतन्त्रको तानाशाही देखेका नै छैनन्। उनीहरूले जनयुद्धमा युवाले देखाएको जोश, साहस र ज्यान फाल्ने मानसिकता अनुभव गरेका छैनन्। बरु उल्टै कतिपय युवाहरू इतिहास बिर्सेर फेरि त्यही पुरानो राजतन्त्रको गुणगान गाइरहेका छन्।
आज फेसबुक, इन्स्टाग्राममा हेर्न सकिन्छ पूर्वराजाका छोरा, नातिहरूको फोटोमा ‘भावी राजा’ भनेर लेख्ने, उनीहरूको समर्थन गर्ने पोस्टहरू। वास्तविकता के हो भने, पूर्वराजाका छोरानातिलाई त राजनीति के हो, देश जनताको पीडा के हो, त्यसको सामान्य ज्ञान पनि छैन। अझ, केहीले त आफ्नो व्यक्तिगत जीवनमै अनुशासन र जिम्मेवारी देखाउन सकेका छैनन्। त्यस्ता व्यक्तिलाई भविष्यको राजा भन्नु, र तिनको समर्थन गर्नु यो केवल इतिहास बिर्सनु मात्र होइन, नागरिक भएर फेरि प्रजा बन्न खोज्नु हो। के उमेर मात्र हेरेर यस्ता मान्छेलाई युवा भन्न मिल्छ र ?
यही ठाउँमा माओको एउटा ऐतिहासिक घटना सम्झनु पर्छ। जब माओको उमेर ७० वर्ष नाघिसकेको थियो, साम्राज्यवादी अमेरिका र युरोपले प्रचार गर्थे “माओ अब वृद्ध भए, अब चीनलाई हाँक्न सक्दैनन्।” त्यसपछि माओले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारहरूलाई चीनकै सबैभन्दा ठूलो याङ्सी नदीको किनारमा पत्रकार सम्मेलन गर्ने भनेर बोलाए, तर केही नबोली कपडा खोले र नदीमा हामफाले। १५–२० मिनेटमा नदी पार गरे। त्यो दृश्य देखेर साम्राज्यवादीहरूको मुख बन्द भयो। अब प्रश्न उठ्छ युवा कसलाई भन्ने ? एउटा ७० वर्षको वृद्ध जसको सोच, दृढता र शरीरमा अझै राष्ट्र हाँक्ने शक्ति छ, उसलाई युवा भन्ने कि २०–२२ वर्षका ती युवालाई जसको सोच राजतन्त्रको अँध्यारो गल्लीमा हराइरहेको छ ?
त्यसैले, उमेरले मात्र होइन, सोचले पनि युवा हुनुपर्छ। युवा भनेको प्रवृत्तिले हो, युवा भनेको व्यवहारले हो। अहिले विश्वभर लोकप्रियतावाद फैलिएको छ। जातीय, धार्मिक वा संवेदनशील भावनात्मक मुद्दाहरू उठाएर युवालाई विभाजन गर्ने प्रयास भइरहेको छ। यसका कारण युवामा हुनुपर्ने क्रान्तिकारी गुणहरू हराउँदै गइरहेका छन्। सूचनाको बाढी यति तीव्र छ कि धेरै युवाले के सत्य हो र के असत्य हो भनेर छुट्याउन सकिरहेका छैनन्। सूचना फिल्टर गर्न नसक्दा उनीहरू भ्रामक प्रचार, फोहोर सामग्री र भावनात्मक उक्साहटको शिकार भइरहेका छन्। यही कारण अहिलेका धेरै युवा बाटोबाट भड्किरहेका छन्, आफ्नो मूल क्रान्तिकारी गुण र सामाजिक जिम्मेवारी बिर्सिरहेका छन्।
आजको युवा पुस्तामा दुई धार स्पष्ट छन् :
१. अगाडि बढ्ने धार : जसले गणतन्त्र, लोकतन्त्र, समानता र समाजवादको बाटो रोज्छ।
२. पछाडि फर्किने धार : जसले इतिहासको बलिदान र संघर्षलाई बिर्सेर शोषणकारी सामन्तवादी, राजतन्त्रको गल्लीमा फर्कन खोज्छ।
हामी नेपाली युवाको लागि अहिलेको सबभन्दा ठूलो चुनौती के हो भने, हाम्रो ऊर्जा गलत दिशामा बगिरहेको छ। सोशल मिडिया, उपभोक्तावाद, र व्यक्तिगत लोभले हामीलाई कब्जा गरिरहेको छ। जबकि, यही ऊर्जा यदि समाज निर्माणमा लगाइयो भने, हामीले हाम्रो देशलाई पाँचरदश वर्षमै नयाँ दिशा दिन सक्छौं।
चे ग्वेभाराले भनेका थिए “हामीलाई वास्तविक खतरा दुश्मनको बन्दुक बाट होइन, हाम्रो आफ्नै उदासीनता हो।” यो कुरा हामी सबैको लागि चेतावनी हो। अहिले हामी बोल्यौं भने मात्र भविष्य हाम्रो हातमा हुन्छ, नत्र कसैले हाम्रो सपना चोर्नेछ। यसैले, युवा उमेरमा सही सोच हुनु अनिवार्य छ। सोच गलत भयो भने ऊर्जा विनाशमा जान्छ, सोच सही भयो भने त्यो ऊर्जा समाजको रुपान्तरणमा खर्च हुन्छ।
माओवादी आन्दोलन, माओको विचार, मार्क्सको विश्लेषण र चे ग्वेभाराको जीवन सबैले एउटै कुरा भन्छन् युवा नै परिवर्तनको इन्जिन हो, तर इन्जिनले कता जान्छ, त्यो चालक अर्थात् सोचले निर्धारण गर्छ।अब समय आएको छ कि हामी हरेक युवा आफ्नो भूमिका बुझौं। केवल अन्तर्राष्ट्रिय युवा दिवसमा हैन, वर्षभर हामी आफ्नो अधिकार, जिम्मेवारी र ऐतिहासिक कर्तव्य सम्झेर अघि बढौं। क्रान्तिकारीको बाटो कठिन छ, तर इतिहासले देखाएको छ यही बाटोले मात्र न्यायपूर्ण र समानतामा आधारित समाज दिन्छ।