काठमाडौँ । नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट आयात गरिएको केही आहारपूरक खाद्य पदार्थ (nutraceuticals) रोक्का गरेको छ। विभागका अनुसार, योर देल्हि वान ट्रेडर्स, बीरगन्जले भारतबाट ल्याएका यी उत्पादनहरूले दर्ता गरिएको विवरणभन्दा फरक जानकारी राखेकाले आयातमा रोक लगाइएको हो।
विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बीरगन्जले निरीक्षण गर्दा GNC Marine Collagen र GNC Fish Oil जस्ता उत्पादनमा दर्ता भएको सक्रिय घटक (Active Ingredients) भन्दा फरक विवरण भेटिएको थियो।
यसकारण, विभागले वीरगन्ज भन्सार कार्यालयलाई मिति २०८२/०४/२० मा यी सामानहरू नेपालमा भित्र्याउन नमिल्ने भनी प्रतिवेदन पठाएको छ।
विभागले सबै खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थ पैठारी गर्दा अनिवार्य रूपमा विभागबाट स्वीकृति लिन र प्रवेश नाकामा जाँच गराएर मात्र आयात गर्न आग्रह गरेको छ।
यदि नियम पालना नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले मंगलबार प्रेस नाेट मार्फत जानकारी दिएका छन्।