
प्रत्येक वर्ष अगस्ट १२ मा विश्वभर अंतर्राष्ट्रिय युवा दिवस मनाइन्छ । सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको आवाज, अधिकार र अवसरलाई प्राथमिकतामा राख्दै यस दिवसलाई अन्तर्राष्ट्रिय रूपमा मनाउने निर्णय गरेको हो । यस दिनको मूल उद्देश्य युवा पुस्ताको समस्याहरू, सम्भावनाहरू र योगदानलाई उजागर गर्नु, तिनीहरूलाई सशक्तिकरण गर्ने नीति निर्माणमा प्रेरित गर्नु हो । हरेक वर्ष यस दिवसको लागि अलग(अलग विषयवस्तु तय गरिन्छ, जसले विश्वका युवाहरूमाझ जागरुकता र एकताको भावना जगाउने काम गर्छ ।
तर, नेपालका युवाहरूको वास्तविकता हेर्दा यो दिवस केवल एउटा “औपचारिक कार्यक्रम” मात्रमा सीमित देखिन्छ । नेपालको जनसंख्यामा करिब ४० प्रतिशत हिस्सा युवा वर्ग ९१६–४० वर्ष० को भए पनि, उनीहरूको अवस्था दिनानुदिन जटिल र निराशाजनक बन्दै गएको छ ।
सबैभन्दा ठूलो समस्या रोजगारीको हो । नेपालमा उच्च शिक्षित युवाहरू समेत बेरोजगार छन् । विश्वविद्यालयको डिग्री पाए पनि, बजारमा तिनीहरूको सीपअनुसारको काम पाउने सम्भावना अत्यन्त न्यून छ । सरकारी रोजगारका अवसर सीमित छन्, निजी क्षेत्रमा तलब(दर न्यून र अस्थायी छन्, जसले गर्दा लाखौँ युवा कामको खोजीमा विदेश पलायन हुन बाध्य छन् । आज खाडी मुलुक, मलेसिया, कोरिया वा जापानमा नेपाली युवाको पसिना बगिरहेको छ ।
विदेश गएर कमाएको पैसाले घर चल्ने, परिवार शिक्षित हुने र गाउँमा केही सुधार हुने भए पनि, यसले देशभित्र उत्पादनशील श्रम शक्ति घटाइरहेको छ । नेपालमा उद्योग, कृषि र प्रविधि क्षेत्रमा योग्य जनशक्ति कम हुँदै गइरहेको छ । विदेशी रोजगारमा निर्भरता बढ्दा राष्ट्रिय अर्थतन्त्र पनि अस्थिर बन्दै गएको छ ।
अर्को गम्भीर समस्या युवाहरूको मानसिक स्वास्थ्यसँग सम्बन्धित छ । बेरोजगारी, आर्थिक कठिनाइ, पारिवारिक दबाब, र भविष्यको अनिश्चितताले धेरै युवालाई तनाव, डिप्रेसन र निराशातर्फ धकेलेको छ । कतिपयले आत्महत्यासम्मको कदम चालिरहेका छन् । तर, मानसिक स्वास्थ्य सेवामा पहुँच र सचेतना अझै पनि न्यून छ ।
राजनीतिक रूपमा पनि युवा पुस्ता निराश छन् । लोकतन्त्र, समानता र विकासका वाचा गर्ने नेताहरूले दशकौंसम्म युवालाई केवल भाषण र वाचा बाँड्दै आए । नीतिगत स्थिरता नहुँदा उद्यमशील युवाहरूको योजना वा लगानी सुरक्षित हुँदैन । राजनीति भित्र प्रवेश गर्ने युवाहरू पनि प्रायः पुराना नेताको छायामा मात्र सीमित हुन्छन्, जसले नेतृत्वमा नयाँपन ल्याउन कठिन बनाएको छ ।
युवाहरूको दुर्दशा हटाउन शिक्षा प्रणालीलाई रोजगारमुखी बनाउन, सीपमूलक तालिम विस्तार गर्न, उद्यमशीलताको वातावरण निर्माण गर्न र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी छ । साथै, विदेश पलायन कम गर्न आन्तरिक रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ ।
अंतर्राष्ट्रिय युवा दिवस केवल “कार्यक्रम” हैन, कार्यनीतिक प्रतिबद्धताको दिन बन्नुपर्छ । नेपाली युवा राष्ट्रको मेरुदण्ड हुन्, उनीहरूको ऊर्जा र प्रतिभालाई सही दिशामा प्रयोग नगरेसम्म, विकासको सपना केवल भाषणमै सीमित हुनेछ ।