वीरगन्ज । अनलाइनखबरले ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार २०८२ सालका प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको हो ।
अनलाइनखबरले सार्वजनिक गरेको ४० बर्षमुनिका ४० प्रभावशाली युवाहरु मध्य मधेसका चारजना युवा परेका छन् । राजनीतिक क्षेत्र, किसान आन्दोलन, खानाको परिकार बनाएर अन्तराष्ट्रियस्तरमा उत्कृष्ट भएका र दलित समुदायलाई शिक्षाको ज्योती फैलाउन महत्वपूर्ण भूमिका खेल्ने चारजना मधेसका युवाहरु अनलाईखबरको ४० बर्षमुनिको ४० प्रभावशाली युवाहरुको सूचीमा पर्न सफल भएका हुन् ।
देशमा कतिपय नकारात्मक परिसूचकहरूका बीचमा पनि समाजमा सुस्तरी परिवर्तनको भूमिका खेलिरहेका युवाहरूलाई उजागर गर्ने उद्देश्यले अनलाइनखबरले गतवर्षदेखि सार्वजनिक गर्न थालेको ४० युवाहरूको सूचीमा यसपटक मधेसले पनि निकै उत्साहपूर्ण स्थान प्राप्त गरेको छ ।
सम्मानित हुने प्रभावशाली व्यक्तिहरु मधेसमा सामाजिक जागरण र परिवर्तनका लागि युवाहरुको भूमिका महत्पूर्ण रहेको देखाएको छ । युवाहरुको थप हौसला र उर्जाका स्रोत बनेका छन् ।
रहबर अन्सारी मधेश प्रदेशका ती सांसद हुन्ः जो सुशासन, विकास, शिक्षा, पर्यावरण र धार्मिक सहिष्णुताको पक्षमा सदन तथा सडकमा आवाज उठाइरहन्छन् । बिहान उठेदेखि राति नसुतेसम्म जनताकै काममा लागिरहने यी माननीय इमान, लगन र असल कर्मका कारण जन–जनको मनमा बसेका छन् ।
दलित बस्तीमा एकाएक शैक्षिक जागरणको हुरी ल्याउने व्यक्ति हुन् मनोज राम। शिक्षित समाज भए मात्रै जातीय विभेद, छुवाछूतमुक्त समाज बनाउन सकिन्छ भन्ने बुझाइले उनलाई शिक्षामा काम गर्न झकझक्यायो। अनि शुरू गरे, बस्ती–बस्तीमा शैक्षिक जागरण अभियान र आफ्नै घरको आँगनबाट निस्शुल्क ट्युसन कक्षा।
२०७८ सालमा सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको मधेशकेन्द्रित किसान आन्दोलनले उनलाई आफ्नो खेती–किसानी समुदायको अगुवा बनाइदियो । किसानका अधिकार माग्दै विनिता सिंह दनुवार चार वर्षअघि सडकमा ओर्लिन् । किसान अगुवा बन्दै सांसद बनेकी उनी आफ्नो समुदाय अनि पेशाकै उत्थानका लागि संघर्ष गरिरहेकी छिन्, भिन्न–भिन्न मोर्चामा ।
डिसवासर हुँदै मास्टर सेफ बनेका जनकपुरका सन्तोष साहले देश तथा विदेशमा कमाएको ख्याति लोभलाग्दो छ । १० वर्ष बेलायत बसाइमा सन्तोषले ‘बीबीसी मास्टर सेफ’को उपाधि जिते । किताब लेखेका छन्। मास्टर सेफ सन्तोषका नाममा संघीय राजधानीका तीन ठाउँमा ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ सञ्चालनमा छन् । दिउँसैदेखि यी आउटलेटमा ग्राहकको भीड यति धेरै हुन्छ कि, कुनै समय त एक–एक घण्टासम्म मुख्य गेट बन्द गरेर बस्नुपर्छ । एक त नयाँ ‘कन्सेप्ट’ अर्कातर्फ ‘सेलिब्रेटी सेफ’ ।आज सन्तोषका लागि नामै काफी छ । आगन्तुकले मेनुभन्दा अगाडि खोज्ने अनुहार र लिने नाम हो– सन्तोष ।