२६ साउन, बुटवल । रुपन्देही जिल्ला अदालतले सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।
लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८५ हजार रुपैयाँ बराबरको बैंक जमानत पेश गर्दै मुलुकी फौजदारी कार्यविधिसंहिताको दफाअनुसार रिहाइको माग गरेका थिए। सोमबार न्यायाधीश नारायण सापकोटाको इजलासले उनको निवेदन अस्वीकार गर्ने आदेश दिएको हो।
गत चैत १२ गते उच्च अदालत, बुटवलले जिल्ला अदालतको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सर्वोच्च अदालतले पनि उच्च अदालतको आदेशलाई सदर गरेको थियो। यसै आदेशपछि लामिछाने गत चैत २५ गतेदेखि भैरहवा कारागारमा छन्।
लामिछानेले आफ्नो निवेदनमा आफू निर्दोष भए पनि बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न यो कदम चालेको उल्लेख गरेका थिए। उनले आफूमाथि लागेका आरोपहरूलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन्।