वीरगंज। पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ६ सय ३५ मुद्दामध्ये ७ हजार २ सय ४४ वटा मुद्दा फर्छ्यौट गरेको छ। यो मुद्दा फर्छ्यौटको दर ५७.३३ प्रतिशत हो। गत वर्षको ५७ प्रतिशतको तुलनामा यो प्रगति उन्मुख रहेको अदालतले जनाएको छ।
अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ६ हजार ९२ र गत वर्ष नयाँ दर्ता भएका ६ हजार ५ सय ४३ मुद्दा थिए। अदालतमा १८ महिना नाघेका ३ सय ६७ र दुई वर्ष नाघेका ३ सय ३४ मुद्दा छन्।
अदालतका ११ न्यायाधीश मध्ये माधवप्रसाद घिमिरेले सर्वाधिक ९ सय ८३ मुद्दा फर्छ्यौट गरेका छन्। उनलाई सम्मान पनि गरिएको छ। त्यस्तै, दीपक खनालले ९ सय ३९ र नन्दकिशोरप्रसाद यादवले ७ सय ६२ मुद्दा टुंग्याएका छन्।
चालु आर्थिक वर्षमा अदालतले करिब १३ हजार ४ सय ६८ मुद्दा दर्ता हुने अनुमान गरेको छ। जसमध्ये ८ हजार ८ सय ३७ (६६ प्रतिशत) मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरिएको छ।