वीरगंज । मनसुनी वर्षा कम भए पनि मधेश प्रदेशमा हालसम्म ७७ प्रतिशत धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै बारामा ९५ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ।
प्रदेशको कूल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य जमिनमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेको छ। यस वर्ष हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भइसकेको छ। पर्याप्त वर्षा नभए पनि किसानहरूले बोरिङ र विभिन्न नदी तथा नहरको पानी प्रयोग गरेर रोपाइँलाई निरन्तरता दिएका छन्। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी र सर्लाही-रौतहटमा बागमतीबाट सिँचाइको सुविधा उपलब्ध भए पनि धनुषामा कमला नदी सुक्दा समस्या भएको छ।
निर्देशक यादवले यस वर्ष अधिकतम ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरेका छन्। यद्यपि, ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशतले कमी आउने अनुमान गरिएको छ।