काठमाडौं । देशभर मनसुनी वर्षाको प्रभाव यथावत् रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशका विभिन्न भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी केही स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।
आज (शुक्रबार) दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका क्षेत्रमा धेरै स्थानमा वर्षा हुनेछ। यसैगरी, देशका बाँकी पहाडी भू-भागका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनीको तराई, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभरको मौसम बदली रहनेछ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनेछ।
कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा अवस्थित छ। यसका कारण देशभर मनसुनी प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव भने केही कमजोर देखिएको विभागले जनाएको छ।