वीरगन्ज । देशभर मनसुनी वायुको प्रभाव रहेकोले मौसममा बदली आएको छ। मनसुनको न्यूनचापीय रेखा तराई नजिकै सरेकाले यसको असर बढी देखिएको छ।
हाल देशभर पूर्णतया बदली छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज पनि देशभर सामान्यतया बदली रहनेछ। सबै प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षा पनि हुन सक्छ।
महाशाखाले कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा दिनभर मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
मधेसमा शनिबार रातिदेखि परेको पानीले केही राहत पाएको छ । मधेसका विभिन्न स्थानमा मुसलधारे बर्षा भएपछि किसान खुशी छन् । धान रोपाँई गर्न बाँकी रहेका स्थानहरुमा किसान धान रोप्न खेतमा पुगेका छन् ।
वीरगन्ज आसपास क्षेत्रमा पनि ठूलो बर्षा भएपछि अहिले किसानलाई धान रोपाँई गर्न भ्याई नभ्याई भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशैभरका मुख्य सहरहरुमा पानी परिरहेको देखाएको छ ।
वीरगन्जमा मात्रै बिहान पौने ६ बजे सम्ममा १२.४ मिलीलिटर पानी परेको छ । आज दिनभरीमा २० मिलीलिटरसम्म बर्षा हुनसक्ने अनुमान मौसमपूर्वानुमान महाशाखाको छ ।