काठमाडौं । प्रेस सेन्टर नेपालले हाल प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानप्रति गम्भीर असहमति जनाउँदै तत्काल संशोधनको माग गरेको छ।
प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले आईतबार एक विज्ञप्ति जारी गर्दै २०८२ साउन १८ गते जारी गरिएको विज्ञप्तिमा सेन्टरले विधेयकका वर्तमान प्रावधानहरू प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्ने र पञ्चायतकालीन कानूनभन्दा पनि प्रतिगामी भएको ठहर गरेको छ।
सेन्टरले यी प्रावधानहरू विश्वव्यापी प्रेस स्वतन्त्रताको मान्यता, नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति, २०७३, र डा.सुरेश आचार्य नेतृत्वको आमसञ्चार क्षेत्र सुधार समितिको सुझावविपरीत रहेको उल्लेख गरेको छ।
प्रेस सेन्टरले काउन्सिलका पदाधिकारीको नियुक्ति सिफारिस समिति, पदाधिकारीको संरचना, कार्यवाहक अध्यक्षको व्यवस्था, बजेट र वार्षिक प्रतिवेदनको स्वायत्तता, प्रेस प्रतिनिधि वितरण र पत्रपत्रिका वर्गीकरणसम्बन्धी प्रावधानमा सुधारको माग गरेको छ।
सेन्टरले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति तथा समग्र प्रतिनिधि सभालाई यो विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।
साथै, मिडिया काउन्सिल विधेयकका कतिपय प्रावधान संशोधन गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्न प्रेससँग सम्बन्धित सबै संघसंस्थालाई सहकार्यको आह्वान गर्दै विधेयक संशोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने घोषणा पनि गरेको विज्ञप्तिमा उल्लेख छ।