वीरगन्ज । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन वीरगन्ज महानगर समितिले संगठनको इतिहासमै पहिलो पटक महत्वपूर्ण र प्रशंसनीय काम गरेको छ । प्याब्सनले महानगरपालिकामा सञ्चालित प्लस टु कलेजहरुमाकक्षा ११ मा अध्ययन गर्ने ३२ जनालाई पढाउने गरी छात्रवृत्ति वितरण गरेको छ ।
महानगर कमिटिका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा आज होटल पूजनमा आयोजना गरिएको छात्रवृत्ति वितरण समरोहमा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले छात्रवृत्ति प्राप्त गरेका ३२ जना विद्यार्थीहरुलाई प्याब्सन महानगरको तर्फबाट छात्रवृत्तिको लागि सिफारिस पत्र वितरण गरे ।
प्याब्सन वीरगन्ज महानगरपालिकाले घोषणा गरे अनुसार छात्रवृत्तिको लागि लिईएको परीक्षामा उत्कृष्ट ल्याउने विद्यार्थी आयुश सर्राफलाई ल्यापटप, दोश्रो सागर साहलाई आई ट्याब र संजोग महतो, निराजन प्रसाद र रोशन गुप्तालाई कलेजको पोशाक समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख सिंहले आफूले देखेको एउटा सपना पूरा गर्न प्याब्सन वीरगन्ज महानगरपालिकाले गरेको काम सराहनीय रहेको बताए । तर, छात्रवृत्तिको नाममा ट्युसन फि मात्रै निःशुल्क गर्ने र अन्य विभिन्न शीर्षकहरुमा शुल्क लिनु गलत रहेको बताए । उनले छात्रवृत्ति भनेपछि कुनैपनि शीर्षकमा शुल्क विद्यार्थीहरुबाट नलिन आग्रह गरे ।
काठमाडौ लगायत अन्य स्थानका विद्यालय र शिक्षकहरु भन्दा वीरगन्जका शिक्षक र विद्यालयहरु कमजोर नरहेको बताउदै मेयर सिंहले यसको गुणस्तरमा अझ ध्यान दिन आग्रह गरे । उनले अभिभावकहरुलाई पनि निजी विद्यालयहरु शिक्षाको लागि सेवामूलक व्यापार भएकोले आफ्ना छोराछोरीहरु पढाउने विद्यालयको समयमै शुल्क तिर्न पनि आग्रह गरे ।
वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समिक्षा आवश्यक रहेको बताउदै यसमा प्याब्सनको भूमिका पनि महत्वपूर्ण हुने बताए । महानगरपालिकाले विद्यालयको संख्यामा भन्दा पनि शिक्षाको गुणस्तरमा धेरै ध्यान केन्द्रीत गरेको बताउदै त्यसको निर्मम समिक्षा जरुरी रहेको बताए ।
उनले वीरगन्जबाट विद्यार्थीहरु अध्ययनको लागि जानै नपर्ने खालको वातावरण बनाउनका लागि प्याब्सनले राम्रो सुरुवात गरेको बताउदै छात्रवृत्ति भन्ने तर विभिन्न शीर्षकमा शुल्कहरु लिईरहेकोले त्यसको अन्त्य हुनुपर्ने बताए । प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले प्याब्सन महानगरले ऐतिहासिक काम गरेको बताउदै यले केही हदसम्म वीरगन्जबाट विद्यार्थीहरुलाई बाहिर जानबाट रोक्न सक्ने विश्वास व्यक्त गरे ।
उनले वीरगन्जको शिक्षाको विकासमा प्याब्सन पर्सा सबैसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा प्रेस सन्टर नेपाल मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे, मानवसेवा आश्रममा संस्थापक देवेश मानवसेवा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्याब्सन महानगर समितिका सचिव अमित आलोकले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शर्मानन्द कुश्वाहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्याब्सनका सल्लाहाकार मणी पाख्रिन, लाल बहादुर पटेल, प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान, सल्लाहकार शिवजी गुप्ता, एन प्याब्सन महानगर अध्यक्ष जियालाल साह, इनोभेटिभ युथ सोसाईटीका अध्यक्ष कमल चौगाई, प्याब्सन पर्साका सचिव अशोक संग्रौला लगायत अभिभावक, विद्यार्थी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कक्षा ११ मा छात्रवृत्ति उपलब्ध गराउने प्याब्सन अन्तर्गतका कलेजहरु