वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले सीमाक्षेत्रमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ । भित्री सीमा नाकाहरूमा अवैध गतिविधि बढेको जनगुनासोका आधारमा प्रहरीले चलाएको विशेष अभियानका क्रममा बुधबार बिहान ११ बजे पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २, जानकीटोल चोकबाट १६ जना युवालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपिरीक्षक किशोर लम्सालले जानकारी दिए ।
पक्राउ परेका युवाहरू लागुऔषध सेवन गर्ने र सिमानाकाबाट विभिन्न किसिमका प्रतिबन्धित लागुऔषध (ट्याब्लेट, इन्जेक्सन, कोरेक्स) सेवन गरी नेपाल प्रवेश गर्ने गरेको प्रहरीको भनाइ छ। नेपाल प्रवेशपश्चात् उनीहरू हो–हल्ला, झै–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा पक्राउ परेका युवाहरूले राष्ट्रसेवक प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिकाका सुजित पटेल (२५), राहुल यादव (३०) श्यामसुन्दर यादव (२७), ऐ.जे.दास (२४), फिरोज अन्सारी (२५), देवनारायण राम (२३), सुमित कुशवाहा (२६), दिनानाथ पटेल (२९), र दिपेन्द्र पासवान (२५) रहेका छन्। त्यसैगरी, पर्साकै विन्दवासिनी गाउँपालिकाबाट नितेश मुखिया (२७), ठोरी गाउँपालिकाबाट रोहन बुढाथोकी (२७) र धोबिनी गाउँपालिकाबाट रिजवान हवारी (२९) पक्राउ परेका छन्।
अन्य पक्राउ पर्नेहरूमा सिरहाको धनगढीमाई नगरपालिकाका दिनेश कुमार श्रेष्ठ (२८), धनुषाको छिरेश्वर नगरपालिकाका जितेन्द्र कुमार यादव (३५) र बाराको जितपुर सिमरा उपमहानगरपालिकाका मनुप अछामी (२८) तथा टलक बहादुर के.सी. (२६) रहेका छन्। पक्राउ परेका युवाहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।