वीरगन्ज । वीरगन्जको त्रिभुवन राजपथअन्तर्गतको मुख्य सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ मंगलबार पनि हुन सकेन।
उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि फेरि स्थगित भएको हो। सडक विस्तारका कारण घरजग्गा गुम्ने भन्दै स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा उत्प्रेषणको परमादेश माग गर्दै रिट दायर गरेका थिए। यसअघि साउन ७ गते भएको छलफलमा आजको मितिमा सुनुवाइ हुने तय भएको थियो।
तर, अदालतको कार्यतालिकामा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएपछि आजको सुनुवाइ पनि हुन सकेन। वीरगन्ज महानगरपालिकाका कानुनी सल्लाहकार कमल मोहन पोखरेलले मुद्दा फेरि हेर्न नभ्याइने सूचीमा परेकाले प्रक्रिया लम्बिएको जानकारी दिएका छन्। उनका अनुसार सडक विस्तारको विषयमा अझै पनि अनिश्चितता कायमै रहेको छ।
सडक विस्तारको प्रक्रिया अगाडि बढाउने सरकारको योजना र स्थानीयको प्रतिवादबीचको द्वन्द्वले यो विषय पछिल्ला महिनादेखि विवादित बनेको छ। अब मुद्दाको सुनुवाइ साउन २६ गतेको लागि तोकिएको छ ।