वीरगन्ज । पर्साका विभिन्न कम्युनिष्ट पार्टीहरुको मोर्चा ‘संयुक्त वाम अभियान पर्सा’ ले आईतबार अमेरिकी साम्राज्यवादको हस्तक्षेप र इजरायलद्वारा प्यालेस्टाइनमाथि भइरहेको एकतर्फी हमला तथा नरसंहारको विरोधमा पर्सामा प्रदर्शन गरेको छ।
विरोध प्रदर्शनका क्रममा सहभागीहरूले अमेरिकी हस्तक्षेप र इजरायलको प्यालेस्टाइनी भूभागमाथिको कारबाहीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर चुनौती खडा गरेको भन्दै चर्का नाराबाजी गरेका थिए। उनीहरूले प्यालेस्टिनी जनताको अधिकारको सम्मान गर्न र इजरायललाई तत्काल हमला रोक्न माग गरेका छन्।
संयुक्त वाम अभियान पर्साले जारी गरेको विज्ञप्तिमा विश्वभर अमेरिकी साम्राज्यवादले विभिन्न देशमा हस्तक्षेप गरिरहेको र त्यसको पछिल्लो उदाहरण इजरायलको प्यालेस्टाइनमाथिको हमला भएको उल्लेख छ। उनीहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन र मानवताविरुद्धको अपराधको संज्ञा दिएका छन्।
प्रदर्शनमा अभियानसँग आबद्ध विभिन्न वामपन्थी सङ्गठनका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। उनीहरूले यस मुद्दामा नेपाल सरकारले स्पष्ट अडान लिई प्यालेस्टिनी जनताको पक्षमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन्।
अभियानले अब विभिन्न जनजिविका सवालमा निरन्तर आवाज उठाउने अध्यक्ष बालगोपाल थापाले बताए । उनका अनुसार अहिले तराई मधेसमा देखिएको पानीको संकट समाधानका लागि तीनै तहको सरकारलाई घच्घच्याउने, किसानले मल, खाद, बिऊ, सिँचाईको समस्या भोगीरहेको अवस्थामा तत्काल समाधानको पहल गर्न राज्यलाई खबरदारी गर्ने थापाले बताए ।
अभियानका अध्यक्ष नेकपा एकीकृत समाजवादीका पर्सा अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा वीरगन्ज घण्टाघरमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य बाबुराम कौशिक, मधेस प्रदेश सदस्य रामदरेश कुश्वाहा, वीरगन्ज महानगर कमिटी सचिव सुरेन्द्र गुप्ता, नेकपा एकीकृत समाजवादी पार्टीका शंकरलाल कर्ण, रघुनाथ प्रसाद चौरसिया, नेपाल मजदुर किसान पार्टीका सरोज साह, जनमोर्चाका अध्यक्ष अच्छेलाल साह, नेकपा (विप्लव) का फिरोज सी, वैज्ञानिक समाजवादी पार्टीका धन बहादुर श्रेष्ठ लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।