जनकपुरधाम। नेकपा (माओवादी केन्द्र) ले मधेस प्रदेशमा आफ्नो सङ्गठनलाई गतिशील बनाउन सक्रियता बढाएको छ। आइतबार जनकपुरमा सम्पन्न पार्टीको तदर्थ समिति बैठकले मधेस प्रदेश समिति निर्माणमा तीव्रता दिने निर्णय गरेको हो।
यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकतापछि बनेको प्रदेश समिति पार्टी विभाजन भएपछि निष्क्रिय बनेको थियो। माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेशका इञ्चार्ज मातृकाप्रसाद यादवका अनुसार, तत्कालीन प्रदेश समितिमा रहेका सदस्यहरू र हालै माओवादी केन्द्रसँग एकीकरण गरेको गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका प्रदेशस्तरीय सदस्यहरू सम्मिलित तदर्थ बैठकले अब नयाँ प्रदेश समिति निर्माणको मार्ग प्रशस्त गर्नेछ।
यादवले प्रदेश समिति अभावमा मधेसमा पार्टी चलायमान हुन नसकेको र विभिन्न गुट उपगुटका कारण पनि सङ्गठन कमजोर बनेको स्वीकारे। उनले इञ्चार्जको जिम्मेवारी सम्हालेपछि प्रदेशस्तरीय सदस्यहरूको यो पहिलो भेलाबाट पार्टीलाई सक्रिय बनाउन तदर्थ समिति गठन गरिएको जानकारी दिए। अब यो तदर्थ समितिले मधेस प्रदेश समितिको अधिवेशन आयोजना गरी नयाँ कार्यसमिति चयन गर्नेछ।
सिराहाका ७६ वर्षीय ज्येष्ठ सदस्य रामचन्द्र साहको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका महासचिव देव गुरुङ र उपमहासचिव तथा मधेस प्रदेश इञ्चार्ज मातृका यादवले पार्टीलाई एकताबद्ध बनाएर मधेसमा पुनःजागरण ल्याउन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।