सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा शनिबार राति एक चकित पार्ने र हृदयविदारक घटना घटेको छ। नेपाली सेनाबाट केही वर्षअघि मात्रै अवकाश लिएका ४२ वर्षीय पूर्वसैनिक दानसिंह ठाडाले आफ्नै ४१ वर्षीया श्रीमती रविना ठाडाको हत्या गरेका छन्। झन् चकित पार्ने कुरा के भने, उनले आफैं प्रहरीलाई फोन गरेर जानकारी दिएका थिए।
‘सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्’ प्रहरीका अनुसार शनिबार राति करिब १ बजे ठाडाले प्रहरीलाई फोन गर्दै यस्तो बोलेका थिए : ‘सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्।’ फोन गर्दा उनले ठेगाना पनि दिएका थिए।
वडाध्यक्ष दीपेन्द्रराज कोइरालाका अनुसार दानसिंहले प्रहरीलाई फोन गर्नुअघि आफूलाई समेत सम्पर्क गरेका थिए।
उनले भने, ‘राति मसँग पनि उसले नम्बर मागेको थियो। घरपरिवार सबैलाई फोन गरेको रहेछ।’
प्रारम्भिक अनुसन्धान अनुसार रविनालाई सुतिरहेको अवस्थामा काठको दाउराले हानेर हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। वडाध्यक्ष कोइरालाले भने, ‘सुतिरहेकी श्रीमतीमाथि दाउराले हानेको जस्तो देखिन्छ।’
दानसिंह र रविना घरमा मात्र दुईजना बस्दथे। उनीहरूका तीन छोरीमध्ये एक जापानमा छिन्, दुईको विवाह भइसकेको छ, छोरा दुबईमा छन्। घटनाका केही दिनअघि मात्र दानसिंहले मादक पदार्थ पिउन छाडेको वडाध्यक्षको भनाइ छ।
घटना लगत्तै प्रहरी चौकी करेखोलाबाट खटिएको टोलीले दानसिंहलाई आइतबार बिहान २ बजेतिर नियन्त्रणमा लिएको हो। रविनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल, कालागाउँ लगिएको छ।
हत्या किन भयो ? यसबारे अझै खुलासा भएको छैन। पूर्वसैनिक ठाडाले किन यस्तो भयावह निर्णय गरेरु प्रहरी अब यिनै प्रश्नहरूको उत्तर खोज्न अनुसन्धानमा जुटेको छ।