वीरगञ्ज, ८ साउन । वीरगञ्जस्थित गौतम माध्यामिक विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि नियुक्त विद्यार्थी पदाधिकारीहरूको पदस्थापन तथा सपथ ग्रहण समारोह आज सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन, सहायक क्याप्टेन र प्रिफेक्टसहित विभिन्न पदमा नियुक्त विद्यार्थीहरूले औपचारिक रूपमा सपथ लिएका हुन्।
सपथ ग्रहण कार्यक्रममा विद्यार्थीहरूले आफूहरू विद्यालयको मर्यादाभित्र रहेर अनुशासन, जिम्मेवारी र सेवाभावका साथ नेतृत्व गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे। उनीहरूले एकता, उत्कृष्टता र प्रेरणाको भावना बोकेर साथीहरूलाई समेत सकारात्मक दिशा दिने अठोट व्यक्त गरे।
समारोहकी प्रमुख अतिथि नेपाली सेनाको श्रीपूरस्थित श्रीजंग गणकी मेजर रेनु शाहले शिक्षालाई राष्ट्र निर्माणको आधार भन्दै विद्यालयस्तरमै यस्ता नेतृत्व विकास हुने कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना थप बलियो हुने विश्वास व्यक्त गरिन्। उनले विद्यालयमा नेतृत्वदायी भूमिकामा रहँदा अनुशासन, समर्पण र परिश्रमलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइन्।
कार्यक्रममा हेड ब्वाय नमन श्रेष्ठ र हेड गर्ल नियास्ना श्रेष्ठसहित रेड, ग्रिन, ब्लु र एल्लो हाउसका क्याप्टेन र सहायक क्याप्टेनहरूलाई ब्याच प्रदान गरिएको थियो। रेड हाउसमा अशोक कुमार साह र जेब्रिया खातुन, ग्रिन हाउसमा बासु चौरसिया र इच्छा सिंह, ब्लु हाउसमा प्रलय चौधरी र मेविश प्रविन तथा एल्लो हाउसमा प्रिन्स यादव र आलिया शेख क्याप्टेन नियुक्त भएका हुन्। यस्तै सहायक क्याप्टेनमा यशराज गुप्ता, अदिती पिठाकोटे, आयन गुप्ता, जेश्मिन खातुन, कार्तिक गुप्ता र श्रेनिका बस्नेत रहेका छन्।
कार्यक्रममा जुनियरतर्फ पनि हाउस क्याप्टेन तथा सहायक क्याप्टेन पदमा नियुक्त विद्यार्थीहरूलाई औपचारिक रूपमा ब्याच वितरण गरी सपथ ग्रहण गराइएको थियो। त्यस्तै विशिष्ट अतिथिहरु विद्यालयका सहायक प्रधानाध्यापक ललित कर्ण, प्रशासन प्रमुख रमेश शर्मा, एल्भिन अरोन रेञ्जर, जुनियर कक्षाका कोअर्डिनेटर सिपेन्द्र गुप्ता लगायत विद्यालयका विषयगत शिक्षकहरुले पनि ब्याच वितरण गरेको विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले जानकारी दिए । कार्यक्रमको सहजीकरण पनि प्रधानले नै गरेका थिए ।