काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी राजनीतिमा सक्रियता अस्वीकृत गरेको छ । मंगलबार मध्यराति सम्पन्न बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गर्दै उनलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ।
बैठकले नेपालको संवैधानिक व्यवस्थाको मर्म र भावनाका आधारमा पूर्वराष्ट्रपतिले कुनै पनि दलविशेषको सदस्य वा नेताका रूपमा सक्रिय रहन नमिल्ने निष्कर्ष निकालेको हो।
बैठकको निर्णयअनुसार, नेपालको संविधानको भाग–६, धारा ६१ मा राष्ट्रपतिको व्यवस्था छ। सोही धाराको उपधारा (२) मा राष्ट्रपतिलाई राष्ट्राध्यक्ष, उपधारा (३) मा राष्ट्रिय एकताको प्रवर्द्धक उपधारा (४) मा संविधानको पालक र संरक्षक, तथा धारा २६७ को उपधारा (२) बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ।
यी संवैधानिक प्रावधानहरूलाई आधार मान्दै बैठकले राष्ट्रपतिको पद मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य, कार्यकर्ता वा नेता हुनु यस गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव नहुने र नमिल्ने ठहर गरेको छ।
यस्तो अभ्यासले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत सन्देश जाने निष्कर्ष निकाल्दै बैठकले पूर्वराष्ट्रपति भण्डारीप्रति उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ।