वीरगञ्ज । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, मधेश प्रदेशले न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। श्रमिकको जीवनस्तर सुधार र महँगीको मारबाट राहत दिलाउन सरकारको ध्यानाकर्षण गराउन भन्दै केन्द्रले आज वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन बुझाएको हो।
ज्ञापनपत्र पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीलाई बुझाइएको थियो। सो अवसरमा समन्वय केन्द्रका प्रतिनिधिहरूले हालको पारिश्रमिकले श्रमिकको दैनिक गुजारा चलाउन कठिन भइरहेको उल्लेख गर्दै सरकारलाई तत्काल न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न आग्रह गरे।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अनुसार श्रमिकको हकहित रक्षा र बढ्दो महँगीको सन्दर्भमा न्यूनतम पारिश्रमिक तत्काल समायोजन अपरिहार्य भएकोले उक्त ज्ञापनपत्रमार्फत सरकारलाई आग्रह गरिएको हो।
ज्ञापनपत्रमा अखिल नेपाल ट्रेड युनियन महासंघ ९अनेटा० मधेश प्रदेशका सहइञ्चार्ज अमृत चिमोरिया, नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० मधेश प्रदेश अध्यक्ष कमलेश झा र नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश उपाध्यक्ष प्रदीप कुमार जयसवालले हस्ताक्षर गरेका छन्।
ज्ञापन बुझाउने टोलीमा झासहित समग्र उद्योग ट्रेड युनियन अध्यक्ष आनन्द थामी, कारखाना श्रमिक संघ अध्यक्ष अमृतलाल जोशी, ट्रेड युनियन कांग्रेस पर्सा अध्यक्ष छोटेलाल प्रसाद तथा अन्य ट्रेड युनियन नेताहरू सहभागी थिए।