दाङ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित लोटस ट्रेनिङ सेन्टरको होस्टेलबाट प्रहरीले अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सल्यान कपुरकोट गाउँपालिका–३ फलाटे निवासी १९ वर्षीय अजय विक रहेका छन्। अवैध हतियार होस्टेलमा लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक सुरज सिंहको नेतृत्वमा खटिएको टोलीले खानतलासीका क्रममा एक थान सात राउण्ड क्षमताको पेस्तोल र चार राउण्ड गोली बरामद गरेको हो।
प्रहरीका अनुसार विक सोही ट्रेनिङ सेन्टरमा बसेर तालिम लिँदै आएका थिए। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार हतियारको स्रोत, प्रयोजन तथा अन्य सम्भावित संलग्नता बारे अनुसन्धान जारी छ।