
बर्सेनि ओरालो लाग्दै गएको भू–जल सतहले यसपटक कहालीलाग्दो रूप लिएको छ । अत्यधिक दोहन, अनियन्त्रित बोरिङ, वर्षा अभाव र सतही जल स्रोतको अभावले गर्दा चापाकलहरू ठप्प छन् । घरको भान्सादेखि बगैँचासम्म सुक्खा छ । कतिपय स्थानमा त एक गाग्री पानीका लागि घण्टौं लाइन लाग्नुपर्ने अवस्था छ ।
पानीको स्रोत सीमित छ, र त्यसको दुरुपयोगको नतिजा अत्यन्तै पीडादायक हुन्छ भन्ने यो संकटले वीरगंजलाई एउटा गम्भीर पाठ सिकाएको छ । तर, सुध्रिने भने चेष्टा समेत गर्दैनन् । चापाकलमा भर परेर जीवन बिताउँदै आएका नगरवासीले यस्तो संकटको सामना गर्नुपर्ला भन्ने अनुमान समेत गरेका थिएनन् । जसको परिणाम अहिले भोगी रहेका छन् ।
विकासको नाममा कंक्रिट ढलान र पिच घरको आँगनसम्म मात्रै होईन सके र पाएँसम्म भित्र भन्सासम्मै गराउन पाए हुन्थ्यो भन्ने प्रवृत्ति र मानसिकताको उपज नै अहिलेको पानीको संकट हो । आजभन्दा बर्षौ अघि नेपाल सरकारले स्वच्छ खानेपानीको लागि ठाउँ ठाउँमा ओभरहेड टंकीको निर्माण गरेर खानेपानीको आपूर्ति व्यावस्था मिलाएको थियो ।
तर, मान्छे बरु २५ रुपैंयाको एक बोतल मिनरल वाटर किनेर पिउँथे । महिनामा २५ रुपैंया पानीको महशुल बुझाउन भने ङिच्च दाँत बनाउनेहरु अहिले खानेपानीको धारा जडानका लागि दिनहुँ धाएर लाईन लाग्ने गरेका छन् । अहिले पनि खानेपानी संस्थानको वीरगञ्ज शाखाको पानीटंकीबाट २० हजार घरधुरीलाई सहजै पानी आपूर्ति गर्न सकिने कार्यालयका प्राविधिक प्रमुख सञ्जिव यादव बताउछन् । तर, केही व्यक्तिहरुले मोटरको प्रयोग गरेर पानी तानिदिने गर्दा अन्य उपभोत्ताहरुको पानी आपूर्तिमा अवरोध सृजना भएको छ ।
यस्तो गतिविधिको जानकारी पाएपछि वीरगन्ज महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर खानेपानी जडान गरिएको धारामा मोटर जडान गरेर पानी नतान्न सचेत गराएको छ । खानेपानीको अभाव हुन थालेपछि सरकारी धारा जडान गर्ने ग्राहकको संख्या व्यापक बढेको छ । अहिले धारा जडान गर्ने पालो पनि महिनौ कुर्नु परेको ग्राहकको गुनासो छ ।
पहिले बेवास्ता गर्ने र अहिले संकटमा छिटो धारा जडान गरिदिन ग्राहकले दिने दबावले खानेपानी संस्थाका कर्मचारीहरुलाई थप तनाव बढेको प्राविधिक प्रमुख बताउछन् । वीरगञ्जमा पानीको संकट आएको धेरै भएको छैन । करिब तीनचारबर्ष मात्रै भएको छ । यसअघि नै सडक, नाला, ढल तथा निजी घरहरु बनाउँदा खेर वरिपरी वृक्षरोपण गर्न शुरु गरेको भए पानी संचित हुने ठाउँ पनि हुन्थ्यो ।
जमिन चिसो बस्थ्यो र पानीको सतह पनि सुक्न पाउदैनथ्यो । तर, संसार जान्ने सर्वश्रेष्ठ प्राणी मानवजातिले वीरगञ्जमा यस्तो हुन्छ भन्ने अनुमान समेत गरेका थिएनन् । अझै पनि जमिन भाँसिने र सुक्खा हुने जोखिमहरु कायमै रहेको छ । अहिले यति दुःख भोगी रहेका छन् । तर, फेरीपनि वातावरण जोगाउने र रुख विरुवा लगाउने त परको कुरा वृक्षरोपण गरिएका विरुवाहरुको संरक्षण पनि गर्नुपर्छ भन्ने भावना अझै विकास हुन सकेको छैन ।
वीरगञ्जलाई विकास गर्न जताततै ढलान, पक्की सडक निर्माण गर्नेतर्फ मात्रै राज्यको पनि ध्यान केन्द्रीत भएको देखिन्छ । अझ पानीको संकट समाधानको नाममा डिप बोरिङ गाड्ने काम पनि तीब्र भईरहेको छ । संकटको घडिमा नागरिकलाई राहत दिनु राज्यको दायित्व हो । स्थानीय तहको सरकारको जिम्मेवारी पनि हो । त्यहि भएर वीरगंज महानगरपालिका नागरिकको घर–आँगनमा पानी पु¥याउँदै एउटा उदाहरण बनेको छ । पानीका ट्याङ्कर मंगलबार वीरगंजमा जीवन र आशाको पर्याय बनेका छन् ।
तर दीर्घकालीन समाधानविना यो राहत चाँडै अपूरो बन्नेछ । यसैले, संकटको सामना गर्दै दीर्घकालीन सोचका साथ अघि बढ्न महानगर र नागरिक दुवैको भूमिका अपरिहार्य छ । यो संकटसँग जुध्न वीरगंज महानगरपालिका अग्रसर बनेको छ । नगरका ती क्षेत्रहरू जहाँ खानेपानी संस्थानको सेवा पुग्दैन, त्यहाँ बोरिङ र अस्थायी ट्याङ्की जडान गरी पानी पुर्याउन थालिएको छ ।
कुनैबेला करिब सबैजसो घरमा रहेका चापाकलहरूले धनी–गरिबको फरक मेटाएका थिए । तर अहिले त्यो चापाकल नै बन्द भएपछि महानगरको ट्याङ्कर जनताको सहारा बनेको छ । बिहान ट्याङ्करको आवाज सुन्नासाथ बाल्टीन, गाग्री बोकेर मान्छे सडकमा झुल्किन्छन् । भीड लाग्छ तर अनुशासनको साथ पालो कुर्ने दृश्यले संकटमा पनि सामाजिक एकता देखिन्छ ।
महानगरले तत्काल राहतमा मात्रै केन्द्रित नभई दीर्घकालीन समाधानको खाका पनि तयार पारेको छ । डिप बोरिङ, भू–जल पुनर्भरण, पम्पिङ प्रणालीको सुधार र पानीको वैज्ञानिक व्यवस्थापन योजनामा छन् । ‘जल संरक्षण’ र ‘समुदाय–आधारित जल स्रोत विकास’ अभियान अघि बढाउने तयारी समेत भइरहेको नगरपालिकाले दिएको छ ।
संकटले दिएको पाठ हामीले कहिल्यै सिकेनौं । आजभन्दा पाँच बर्ष पछाडि हामी फर्कियौं भने यस्ता संकटमा हामी कति संवेदनशील बनेका छौं भन्ने आफैतर्फ हेर्दा पुष्टि हुन्छ । २०७७ अर्थात २०१९ को डिसेन्बरमा चीनको वुहानमा देखिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको सामना पार गरेको हामी मानव प्राणीले त्यसपछि वातावरण स्वच्छ, सन्तुलित र सफा राख्नका लागि कति लाग्यौं भन्ने प्रश्न आफैलाई गरौं ।
त्यसैले अहिले देखिएको पानीको संकटको दीघकालिन समाधानका लागि प्रथामिकतामा राखेर काम गर्नुपर्दा वर्षाको पानी जमिनमा सोसिन दिने व्यवस्था रेन वाटर हार्भेस्टिङ अनिवार्य गर्नुपर्छ । सार्वजनिक स्थल, पार्क, विद्यालय आदिमा सोख्ता कुण्ड निर्माण गर्नुपर्छ। तर, त्यस खुला भने राख्नु हुन्न । ढल निकास प्रणाली सुधार गरी पानीको उचित व्यवस्थापन, वर्षा–पानी संकलन र प्रयोग गर्ने, घर, विद्यालय, अस्पतालमा वर्षा–पानी संकलन ट्याङ्की स्थापना।
संकलित पानीलाई सरसफाइ, बगैँचा, फ्लस आदिमा प्रयोग गर्ने प्रबन्ध मिलाउने, सार्वजनिक पानी वितरण संरचना विस्तार गर्नुपर्छ । नेपानी संस्थान र महानगरको सहकार्यमा बोरिङ र पम्पिङ स्टेशन विस्तार गरी असमान वितरण हटाई वडागत रूपमा समान पहुँच सुनिश्चित गर्नुपर्छ । भू–जल दोहन नियन्त्रण, अनियन्त्रित बोरिङमा प्रतिबन्ध र अनुमति प्रणाली कडागर्नुपर्छ ।
व्यक्तिगत तथा संस्थागत रूपमा बोरिङ खन्नुअघि वैज्ञानिक अध्ययन अनिवार्य बनाउनुपर्छ । जल संरक्षणमा जनचेतनाविद्यालय, समुदाय र संचार माध्यममार्फत पानीको महत्व र संरक्षणबारे नियमित जनचेतना कार्यक्रमगर्ने हुनुपर्छ । पानी बचाउने प्रविधि ९जस्तै– कम पानी प्रयोग गर्ने धारा, रिसाव नियन्त्रणको प्रयोग प्रोत्साहन गरिनुपर्छ ।
नारायणी वा अन्य सतही जल स्रोतबाट प्रशोधन गरी वितरण प्रणाली विकास गरिनुपर्छ । पुनः प्रयोग योग्य पानीको अध्ययन र प्रयोग प्रारम्भ गरिनुपर्छ । ट्याङ्करमार्फत पानी आपूर्ति तत्काल समाधान हो, तर दीर्घकालीन समाधान भनेको भू–जल संरक्षण, स्रोत विविधीकरण र जनसहभागितामा आधारित व्यवस्थापन हो। संकट समाधानमा वीरगञ्जले अहिलेको अवसरलाई नीति र योजना निर्माणमा रूपान्तरण गर्न सके भविष्यमा यस्तो अभाव पुनः नदोहोरिन सक्छ।