वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्मृतिमा ुसुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारु स्थापना गर्ने घोषणा गरेको छ। सोमबार बसेको महासंघ पर्सा शाखाको कार्यसमितिको बैठकले यो महत्वपूर्ण निर्णय गरेको शाखा अध्यक्ष ओम प्रकाश खनालले जानकारी दिए ।
घोषित पुरस्कारको राशी २५ हजार रुपैयाँ रहनेछ। यो पुरस्कार भदौ २७ गते स्व. पाण्डेको स्मृति दिवसको अवसरमा वितरण गरिने बताइएको छ। पुरस्कार वितरण प्रक्रियालाई व्यवस्थित गर्नका लागि शाखा अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा उपाध्यक्ष निलिमा पौडेल र सचिव विजय महतो सदस्य रहेको एक समिति पनि गठन गरिएको छ। यस समितिले पुरस्कार वितरणका लागि आवश्यक कार्यविधि निर्माण गर्नेछ।
सुदर्शनराज पाण्डे पर्सेली पत्रकारितामा एक स्मरणीय व्यक्तित्व रहेका उनलाई धेरै पत्रकारले आफ्नो गुरु मान्थे र उनको मोफसलको पत्रकारितामा महत्वपूर्ण योगदान रहेको छ। पत्रकारिताका आधारभूत सिद्धान्तको जगमा रहेर काम गर्ने पाण्डे जनपक्षीय पत्रकारिताका एक खम्बा थिए ।
उनीले मजदुर र किसानको जीवनमा समृद्धियुक्त परिवर्तन ल्याउनका लागि पत्रकारिताका माध्यमबाट वैचारिक चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
पाण्डेले सधैँ शोषित वर्गको मुक्तिको प्रश्न पत्रकारिताको पनि प्रश्न हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए । उनको स्मृतिमा स्थापित यो पुरस्कारले पर्साको पत्रकारिता क्षेत्रमा थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।