वीरगन्ज । गहवास्थित अटूट म्यूजिक स्टूडियो प्रा.लि. को भव्य उद्घाटन समारोह आज सम्पन्न भएको छ। नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने उद्देश्यका साथ स्थापना भएको यो स्टूडियो रंजीत पाण्डेय र राहुल गिरीको संयुक्त लगानीमा सञ्चालनमा आएको हो।
उद्घाटन समारोहमा विभिन्न संगीतकर्मी, गायक–गायिका, कलाकार, पत्रकार तथा स्थानीय विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो।
आधुनिक प्रविधियुक्त उच्चस्तरीय ध्वनि रेकर्डिङ, मिक्सिङ, मास्टरिङलगायत सम्पूर्ण संगीत उत्पादनका सेवाहरू प्रदान गर्ने लक्ष्यका साथ खुलेको अटूट म्यूजिक स्टूडियोले नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्ने सञ्चालकद्वय पाण्डेय र गिरीले बताए ।
स्टूडियोका सञ्चालकद्वय पाण्डेय र गिरीले ‘यो स्टूडियो केवल व्यावसायिक प्रयोजनका लागि मात्र नभई, प्रतिभाशाली कलाकारहरूको भविष्य निर्माणको सेतु बन्नेछ’ भन्दै आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्टूडियोको स्थापनासँगै वीरगन्ज तथा सीमावर्ती भारतीय सहरहरुमा संगीतको क्षेत्रमा नयाँ पहिचान बनाउने विश्वास गरिएको छ। स्टूडियोमा आफ्नो प्रतिभा भएरपनि लगानी गर्न नसक्ने तथा आर्थिक अवस्था कमजोर रहेका प्रतिभाशाली व्यक्तिहरुको लागि निःशुल्क गायन तथा रेकर्डिङको सुविधा उपलब्ध गराईने सञ्चालक पाण्डेयले बताए ।