वीरगन्ज । पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार वीरगन्जको क्लासिक ब्यान्क्वेटमा पत्रकारहरूलाई ठाकुरले दुर्व्यवहार गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको थियो।
घटनामा पत्रकारहरु राजु बैठा, सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्दकुमार पटेलमाथि ठाकुरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । पत्रकार अर्जुन चौधरीका अनुसार, ठाकुरले पत्रकारहरुलाई मादक पदार्थ सेवन गरी अस्वाभाविक व्यवहार देखाएर गालीगलौज गरेपछि मदिरा सेवन गरेको हो ? भनेर प्रश्न गरेपछि भने ठाकुर त्यहाँबाट भागेका थिए ।
यस घटनाले पत्रकार समुदायमा आक्रोश बढाएको छ। नेपाल पत्रकार महासंघको केन्द्र, मधेस प्रदेश र जिल्ला शाखासहित प्रेस चौतारी नेपाल पर्सा, प्रेस सेन्टर नेपाल पर्सा, नेपाल प्रेस युनियन पर्सा र समाजवादी प्रेस संगठन पर्सा नेपालले ठाकुरमाथि तत्काल कानुनी कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन्।
पत्रकार राजु बैठाले दुई कार्यक्रम एकै ठाउँमा हुँदा भूलवश स्वास्थ्य कार्यालयको कार्यक्रममा प्रवेश गर्दा ठाकुरले अपमानजनक तरिकाले गाली गरेको बताएका छन्। पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा आइतबार प्रहरी कार्यालय पुगेको टोलीले ठाकुरविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दर्ता गराएको थियो। उनीहरूले ठाकुरको मापसे जाँच र कानुनी कारबाहीको माग गरेका छन्।
आईतबार साँझै उनको मादक पदार्थ सेवन जाँच गर्नुपर्ने अडान पत्रकारहरुले राखेका थिए । तर, अधिकृत ठाकुर सम्पर्क विहिन भएका थिए । घटनाको विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र प्रहरी उपरीक्षक गौतम मिश्रले पनि जानकारी पाएपछि आईतबार साँझै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तीन पटक फोन गर्दा समेत उनले फोन उठाएका थिएनन् ।
प्रहरीले पक्राउ गर्न लोकेशन ट्रेसिङ गरेपछि ठाकुरले मोबाईल स्वीच अफ गरेका थिए । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका ठाकुरलाई एसपी गौतम मिश्रले सम्पर्कमा आएर मापसे किन गराउनु भएन भनेर प्रश्न गर्दा ठाकुरले मादक पदार्थ सेवनको परीक्षण रिपोर्ट समेत बनाएर ल्याएको प्रहरी उपरीक्षक गौतम मिश्रलाई छलफल मै बताएका थिए ।
उनले आईतबार मादक पदार्थ सेवन नगरेको जिकिर गरेपनि प्रहरी उपरीक्षक र छलफलमा सहभागी पत्रकारहरुकै सामु मापसेको रिपोर्ट ल्याएको बताएपछि उनले मादक पदार्थ सेवन गरेको अनुमानलाई थप पुष्टि गरेको छ ।
छलफलका लागि बोलाइएका ठाकुरले पत्रकारहरूसँगको वार्तामा कुनै निष्कर्ष ननिकालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बुझिएको छ। नेपाल पत्रकार महासंघ पर्साका सचिव एवं प्रवक्ता विजय महतोले ठाकुरलाई प्रहरीले आफ्नो निगरानीमा राखी अनुसन्धान गरिरहेको पुष्टि गरेका छन्।