काठमाडौं । उपभोक्ता अदालतका केही फैसलाले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै नेपाल चिकित्सक संघ (एनएमए) ले आजदेखि देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ।
उपभोक्ता अदालतले ओम अस्पताललाई रु. ५० लाख ७० हजार, हिमाल अस्पताल र सम्बन्धित चिकित्सकलाई रु. १ करोड ४५ लाख, र ग्राण्डी सिटी अस्पताल तथा त्यहाँका चिकित्सकलाई रु. ५७ लाख बिरामी पक्षलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेपछि यो विवाद सुरु भएको हो।
चिकित्सक संघले चिकित्सीय लापरवाहीका मुद्दाहरू एनएमसीको क्षेत्राधिकारमा मात्र हुनुपर्ने र यसबारे कानुन संशोधनको माग गरेको छ। असार १७ गतेदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कालोपट्टी बाँधेर गर्दै आएको आन्दोलनको यो निरन्तरता हो। संघले माग पूरा नभए थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ।