काठमाडौं। जनमत पार्टीभित्र उपाध्यक्ष पदमा गरिएको मनोनयनप्रति गम्भीर असन्तुष्टि सार्वजनिक भएको छ। पार्टीका स्थायी समिति सदस्य दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वमा ‘परिवारवाद’ मौलाएको आरोप लगाएका छन्।
अध्यक्षमाथि ‘पारिवारिक प्राथमिकता’ को आरोप
पार्टी अध्यक्ष सीके राउतले आफ्ना दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा नियुक्त गरेपछि साहले यो निर्णय संस्थागत राजनीतिका लागि घातक भएको बताउँदै तीव्र आपत्ति जनाएका हुन्। उनले विगतमा अध्यक्षकी श्रीमती बबिता कुमारी राउतलाई पनि उपाध्यक्ष पदमा मनोनीत गरिएको उदाहरण दिँदै, ‘पारिवारिक प्राथमिकता’ को प्रवृत्तिले पार्टीभित्र गहिरो असन्तुलन सिर्जना गरेको दाबी गरेका छन्।
साहले पार्टी संघर्षमा महत्त्वपूर्ण योगदान दिने कबिन्द्र यादव, सुरेन्द्र नारायण यादवजस्ता समर्पित नेताहरूलाई उपेक्षा गरिएको आरोप पनि लगाएका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार अध्यक्ष राउतका दाजुलाई विगतमा सांसदको उम्मेदवारदेखि योजना आयोगको सदस्य, राष्ट्रिय परिषदको अध्यक्ष र संगठन विभाग प्रमुखजस्ता जिम्मेवारी दिइएको थियो।
अर्का उपाध्यक्षको दाजुको मनोनयनमाथि पनि प्रश्न
त्यस्तै, पार्टीका अर्का उपाध्यक्ष नरेन्द्र चौधरीका दाजु दान बहादुर चौधरीलाई पनि राष्ट्रिय उपाध्यक्ष बनाइनु आपत्तिजनक रहेको साहको भनाइ छ। उनका अनुसार दानबहादुर विगतमा अन्य दलसँग आबद्ध रही पार्टीविरोधी गतिविधिमा सक्रिय थिए।
साहले अध्यक्षको नेतृत्व शैलीप्रति कडा आपत्ति जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “हामी पार्टीभित्र आत्मसमीक्षा र सुधारको संस्कृति निर्माण नगरेसम्म जनमत पार्टीले मधेशका जनताको आशा-अपेक्षाको नेतृत्व गर्ने हैसियत कायम राख्न सक्दैन।”
जनमत पार्टीभित्र देखिएको यो आन्तरिक कलहले पार्टीको भविष्यमा कस्तो प्रभाव पार्ला?