वीरगन्ज । बाराको सिमरा स्थित जगदम्बा स्टिलमा विष्फोट भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा स्थित उद्योगमा बुधबार बेलुकी विष्फोट भएको हो । उद्योग भित्र के बिष्फोट भएको हो भन्ने विषयमा यो समाचार तयार पर्ने समयसम्ममा पनि कुनै आधिकारिक जानकारी आएको थिएन ।
उद्योगमा भएको घटनाको विषयमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठले यकिन विवरण भने नआएको बताए । उनका अनुसार उद्योगका क्रेन अपरेटर घाईते भएको र उपचारका लागि अस्पताल लगि सकिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
उद्योग भित्र भएको विष्फोटले भूकम्पको धक्का जस्तै हल्लाएको स्थानीयले बताएका छन् । तीन चार पटक विष्फोटको आवाज आएको र घरहरु हल्लाएको स्थानीयको भनाई छ । बिष्फोटबाट मानवीय क्षति भए नभएको बारेमा कुनै आधिकारिक जानकारी आएको छैन । बिष्फोटको घटनापछि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जगदम्वा स्टिल उद्योगका कारण मावनीय तथा भौतिक क्षतिको जोखिम रहेको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीय सञ्चारकर्मीहरुका अनुसार आक्रोशित स्थानीयले जगदम्बा स्टिलको मूल गेट अगाडि प्रदर्शन पनि गरेका छन् ।