
वीरगन्जको मुख्य सडक विस्तार हुनुपर्ने र नपर्ने विषयमा चोक चौराहदेखि सामाजिक सञ्जाल र आम जनतासम्म बहस उठेको छ । वीरगन्जको विकास नहुनुमा मुख्य सडक विस्तार पनि एक रहेको धेरै पहिलेदेखि भनिदै आएको विषय हो ।
तथापी मुख्य सडकमा घर हुनेहरुको व्यावस्थापन कसरी हुने भन्ने विषय पनि स्वभाविक हो । अब प्रश्न उठ्छ मुख्य सडक विस्तार हुनुअघि सडक विभागको जग्गामा अतिक्रमण गरेर घर किन बनाए ? ती घर बनाउने नक्सा पास गर्न तत्कालिन नगरपालिका र उपमहानगरपालिकाहरुले किन दिए ? सडक विभाग लगायतका सम्बन्धित निकाय किन मौन बसे भन्ने प्रश्न पनि उत्तिकै सान्दर्भिक छ ।
यो राज्यको कमजोरी मात्रै होईन स्थानीय नागरिकको लापरवाही हो । जग्गा हडप्नका लागि केही रकम नगरपालिकाका कर्मचारीहरुलाई घुस बापत दिएर सार्वजनिक जग्गा (सडक विभागको) आफ्नो नाममा गराउने र कर तिर्दै आएको प्रमाण देखाएर कानूनलाई नै गलत देखाउन खोज्ने प्रवृत्ति र समूह हावी भएर सडक विस्तार हुनुहुन्न भन्ने बहस सृजना गर्नु वीरगन्जको विकासको बाधक नै हो ।
शहरको इतिहास केवल भित्तामा टाँसिएको तस्बिर होइन त्यो जनताको श्रम, पीडा र परिवर्तनको दस्तावेज हो। तर इतिहासलाई बहानाको रूपमा प्रयोग गरेर भविष्य रोक्नु प्रगतिविरोधी सोच हो। वीरगंजको अहिलेको सवाल केवल इँटा र पर्खालको संरक्षण होइन, यो संरचना र सोचको रूपान्तरणको घडी हो।
आज वीरगंजकै भित्री गाउँहरूमा जनताले आफ्नै जग्गा र घर भत्काएर शहरी विकासको नाममा २४ फिटको फराकिलो बाटो बनाइरहेका छन्।असार महिनासम्म पानी, हिलो, अप्ठ्यारो हुँदै पनि उनीहरू विकासमा पछि हटेका छैनन्। त्यो केवल विकासको संकेत होइन , त्यो त्याग र जिम्मेवारीको प्रतीक हो।
यो हामीलाई सम्झाउँछ नेतृत्व कमजोर भए पनि जनता परिवर्तनको पक्षमा उभिएका छन्। तर दुर्भाग्य, वीरगंजजस्तो मुख्य व्यापारिक केन्द्रमा, जहाँ राष्ट्रिय ढोका खुलेका छन्, त्यहीँ पुरानो संरचनाको नाममा राजनीतिक रोइलो चलिरहेको छ। सडक चौडा गर्दा व्यापार चौपट हुन्छ भन्ने भ्रम फैलाइँदैछ।
जबकि फराकिलो सडक भनेको व्यवस्थित बजार, सुरक्षित ट्राफिक, नयाँ लगानी र रोजगारीका अवसरहरू हुन्। जितपुर, सिमरा, बुटवल, भरतपुर, पोखरा, काठमाडौं परिवर्तन भइसकेका छन् , वीरगंज अझै रोकिइरहने ? सर्वोच्च अदालतले फैसला गरिसकेको छ सडक फराकिलो गर्नै पर्छ। अब विकल्प छैन — या त वीरगंज अघि बढ्छ, या इतिहासको गल्लीमा हराउँछ।
इतिहास हेर्न संग्रहालय जाऔं, तर शहर बनाउने हो भने साहसिक निर्णय गरौं। नयाँ वीरगंज फराकिलो सोचबाट बन्छ , पुराना बहानाबाट होइन।