वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँ हुण्डीको रकमसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ का अनिल कुमार बर्णवाल, वीरगन्जमहानगरपालिका वडा नम्बर ३ आदर्श टोलका विनित कुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दिपक कुमार सोनारलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये २६ वर्षीय अनिल कुमार वर्णवाललाई वीरगञ्ज महानगरपालिका वडा नं. १० को मकालु चोकबाट पक्राउ गरिएको थियो। उनको साथबाट कालो झोलामा लुकाइछिपाइ राखिएको ९ लाख ४७ हजार रुपैयाँ बरामद भएको पर्सा प्रहरीले जनाएको छ। १,००० दरका ३२८ थान, ५०० दरका १,२१८ थान र १०० दरका ३०० थान नोटहरू रहेका छन् ।
त्यस्तै, बिनित कुमार श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित कृषि विकास बैंक लिङ्क रोडबाट पक्राउ गरेको हो । उनको कालो झोलाबाट १५ लाख ८१ हजार रुपैयाँ बरामद भएको छ। १,००० दरका ९७३ थान र ५०० दरका १,२१६ थान नोटहरू बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दिपक कुमार सोनारलाई पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित रजतजयन्ती चोकबाट नियन्त्रणमा लिइएको थियो। उनी ना.१६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार थिए। उनको पाइन्टको खल्तीबाट ३ लाख रुपैयाँ बरामद भएको छ । जसमा १,००० दरका २०० थान र ५०० दरका १०० थान नोटहरू रहेका छन् ।
पक्राउ परेकाहरूलाई अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) बमोजिम कसुरमा मुद्दा चलाइएको छ। पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अवैध हुण्डी सञ्जालबारे थप अनुसन्धान गरिरहेको बताएको छ।