वीरगञ्ज । नेपाल प्रहरीले वीरगञ्जबाट पोषण पूरक औषधिमा कालोबजारी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ का ४२ वर्षीय जितेन्द्रप्रसाद कुर्मी रहेका छन्।
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ स्थित विश्वनाथ राउतको घरमा अवैध रूपमा यस्तो कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। भारतबाट सस्तोमा खरिद गरी नेपाल भित्र्याइएका पोषण पूरक औषधिहरूमा ५ गुणासम्म बढी मूल्य कायम गरी कालोबजारी गरिरहेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार अपरान्ह ४ बजेर ४५ मिनेटमा छापा मार्दा जितेन्द्रप्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको हो। कुर्मीले भारतबाट खाली ‘MRP’ (अधिकतम खुद्रा मूल्य) र सस्तो मूल्यमा औषधिहरू ल्याई आफूखुसी मेसिनले प्रिन्टेड छाप लगाएर बढी मूल्यमा बिक्री वितरण गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरीले कुर्मीको साथबाट विभिन्न प्रकारका ठूलो परिमाणमा पोषण पूरक औषधिहरू बरामद गरेको छ। तीमध्ये ‘ACOND2K’ लेखिएको ६० पिस औषधीको दरले ३ कार्टुन र खुल्ला रहेको १ कार्टुनमा ३८ पिस, ‘CANWEL POWDER’ लेखिएको ५० पिस औषधीको दरले २९ कार्टुन सिलप्याक र खुल्ला रहेको १ कार्टुनमा ४९ पिस, र ‘CANWEL POWDER’ लेखिएको २५ पिस रहेको १ कार्टुन मुख्य छन्।
यस्तै, ‘ORTHOHEAL’ लेखिएको ३१२ पिस औषधी भएको १ कार्टुन सिलप्याक र खुल्ला १ बट्टामा २३२ पिस, ‘NITVIT PLUS’ लेखिएको ३१२ पिसको दरले ४ कार्टुन सिलप्याक र खुल्ला रहेको १ कार्टुनमा ३१० पिस, र ‘NITVIT PLUS’ लेखिएको १३ पिसको १ कार्टुन सिलप्याक पनि बरामद भएको छ।
थप बरामद सामग्रीहरूमा ‘SIMROSE’ लेखिएको ३८ बक्स भएको ८ वटा कार्टुन सिलप्याक र खुल्ला १ कार्टुन गरी जम्मा ९ कार्टुन र ‘IMMATEK HEAL SUPPENSION’ लेखिएको ११० पिसको ७ बट्टा कार्टुन सिलप्याक र खुल्ला १ कार्टुनमा ६० पिस औषधी रहेको गरी जम्मा ८ कार्टुन समावेश छन्।
पक्राउ परेका जितेन्द्रप्रसाद कुर्मीविरुद्ध कालोबजारी अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।