वीरगञ्ज । संघीय निजामती विधेयकको विरोधमा सोमबार पर्साको वीरगञ्जमा विधेयकको प्रतिलिपि जलाइएको छ। आम जनता पार्टी, मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहा र पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेल लगायतका नेताहरूको अगुवाइमा सांकेतिक विरोध स्वरूप विधेयक जलाइएको हो।
पार्टीका नेता तथा कार्यकर्ताहरूले वीरगञ्जमा भेला भई संघीय निजामती विधेयकका केही प्रावधानप्रति असन्तुष्टि व्यक्त गर्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरूले विधेयकमा मधेश र मधेशी जनताको हकहितलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।
विरोध कार्यक्रमका क्रममा नेताहरूले विधेयकले समावेशी समानुपातिक सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात नगरेको र यसले मधेशी समुदायलाई निजामती सेवामा अझ पछि पार्ने दाबी गरेका छन्। उनीहरूले तत्काल विधेयक संशोधन गरी मधेशी जनताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
संघीय निजामती विधेयक हाल संसदमा विचाराधीन अवस्थामा छ र यसका विभिन्न प्रावधानहरूलाई लिएर देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्।