वीरगन्ज । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २४औँ वार्षिकोत्सव मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको संयोजकत्वमा विविध सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ।
वार्षिकोत्सवको पहिलो दिन, असार १५ गते, सशस्त्र प्रहरी गणबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१४, पिपरास्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो।
दोस्रो दिन, असार १६ गते, सोही अवसरमा मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका सदस्यहरूले जिल्ला रेडक्रस सोसाइटी पर्सासँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए। यस कार्यक्रममा ४० जनाले रक्तदान गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए।
सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले वीरगन्जमा बढ्दो गर्मीका कारण बिरामीको संख्या दिनानुदिन बढ्दै गएको र रगतको अभाव देखिएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।
उक्त रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, रेडक्रस सोसाइटी पर्सा शाखा सभापति बृजकिशोर पटेल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, प्रभु अस्पताल वीरगन्जका दिलीप कार्की, इनोभेटिभ संस्थाका सञ्चालक कमल चौगाई, लायन्स क्लब अफ वीरगन्जका अध्यक्ष डी.एन.अग्रवाल लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।