काठमाडौं। शिक्षकको पदपूर्तिबारे शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीचको पछिल्लो वार्ता निष्कर्षविहीन टुंगिएको छ। मन्त्रालयले राखेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले असहमति जनाएपछि वार्ता भंग भएको हो।
शिक्षा मन्त्रालयले ४०% आन्तरिक र ६०% खुला प्रतिस्पर्धाबाट शिक्षकको पदपूर्ति गर्ने प्रस्ताव गरेको थियो। तर, शिक्षक महासंघले भने ६०% आन्तरिक र ४०% खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने अडान राख्दै आएको छ। यही विमतिले गर्दा महासंघका प्रतिनिधिहरू वार्ता छाडेर बाहिरिएका छन्।
मन्त्रालयमा भएको छलफलमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस साही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरि, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी लगायतको टोली सहभागी थियो।
यसै छलफलका लागि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सोमबार बिहान ८ बजेबाट दिउँसो २ बजेका लागि सारिएको थियो। तर, महासंघका प्रतिनिधिसँग सहमति नजुटेपछि समितिको बैठक अझै सुरु हुन सकेको छैन।
पदपूर्तिका सवालमा शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुटेको अवस्थामा विद्यालय शिक्षा विधेयक समितिबाट पास गरेर प्रतिनिधि सभामा लैजाने तयारी मन्त्रालयको छ।
यो गतिरोधले विद्यालय शिक्षा विधेयकको प्रक्रियामा थप ढिलाइ हुने सम्भावना बढेको छ। शिक्षक पदपूर्तिबारेको यो विवाद कहिले टुंगिएला?