सिरहा । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशस्थित सिरहा जिल्लाको बरियारपट्टीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशको पहल र सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा शिविर आयोजना गरिएको हो ।
बरियारपट्टी गाउँपालिका वडा नं. ३ को जनता माध्यमिक विद्यालयको प्रांगणमा आयोजित शिविरको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले गरेका थिए । मन्त्री सिंहले सशस्त्र प्रहरी परिवार महिला संघद्वारा आयोजित यस कार्यले सशस्त्र प्रहरी बल, नेपाल, सशस्त्र प्रहरी परिवार महिला संघ र समुदायबीचको सहकार्यलाई अझ सुदृढ र विस्तारित बनाउने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी परिवार महिला संघ मधेश प्रदेशकी अध्यक्ष संगीता सुवेदीले स्वास्थ्य शिविरको आयोजनालाई सफल बनाउन सहयोग पुर्याउने मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ७ गण हेडक्वाटर सिरहा, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका, नेपाल ए.पि.एफ. अस्पताल, नेपाल ए.पि.एफ छिन्नमस्ता फिल्ड अस्पताल, प्रादेशिक अस्पताल सिरहा, प्रादेशिक अस्पताल लहान साथै विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूलाई विशेष धन्यवाद ज्ञापन गरिन् । उनले समुदायमा सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रमको आवश्यकतामाथि जोड दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरिन्।
स्वास्थ्य शिविरमा बरियारपट्टी गाउँपालिकाका ५२२ जना स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरेको आयोजकले जनाएको छ । सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघ मधेश प्रदेशकी अध्यक्ष संगीता सुवेदीले सप्तरीस्थित नेपाल ए.पि.एफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा आयोजित अर्को कार्यक्रममा विद्यार्थीहरूका लागि खेलकुद सामग्री हस्तान्तरण गरेकी थिईन् ।